१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छः निर्वाचन आयोग



१० मंसिर, काठमाडौँ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज सम्पन्न निर्वाचन’ बारे जानकारी दिने उद्देश्यले साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका चार हजार ४६५ मतदान केन्द्रमध्ये छिटफुटबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।

उनले भने, “प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदान कार्य ऐतिहासिकरूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ ।”

केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भए पनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको जनाउँदै आयोगले मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिबद्ध रहेको प्रष्ट भएको उल्लेख गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको बताए । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने आयोगले अनुमान गरेको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको उनले जानकारी दिए । पहिलो चरणको निर्वाचनलाई कायम गरिएका चार हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएलगत्तै सबै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको जनाउँदै आयोगले संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने जानकारी दिएको छ ।

आयोगले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको जनाएको छ । यही मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएलगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।

आयोगले निर्वाचनका लागि अनवरतरूपमा खटिई कार्य सम्पन्न गर्ने निर्वाचन आयोगका सम्पूर्ण कर्मचारी र निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको आयोगले प्रशंसा गर्दै धन्यवाद दिएको छ ।

आयोगले निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोगले आभार प्रकट गरेको छ ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसंग सकारात्मक सहयोगका लागि आयोगले आग्रह पनि गरेको छ ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००