२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता



केशवचन्द्र महरा

८ मंसिर, डोटी । गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घर आँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर यहाँका केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तरखरमा छन् । बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिए ।

निर्वाचनबारे थाह भए पनि उनी मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउँछन् । विगत २२ वर्षदेखि भारतको विभिन्न ठाउँमा काम गर्दै आएका उनी अहिले पञ्जाबमा काम गर्छन् । पञ्जाबको एउटा मन्दिरमा उनी सामग्री सरसफाइ गर्ने काम गर्छन् । ४४ वर्षीय उनीसँग अहिलेसम्म एक पटक मात्रै मतदान गरेको अनुभव छ ।

“भोट केका लागि दिने ? नेताहरु भन्छन् मात्रै गर्ने केही होइन,” उनी भन्छन्, “ “उसै पनि यो मेरो जाने समय नै हो । उता छुट्टी पनि छैन । केही नगर्ने नेतालाई किन भोट दिने ?” मलाइ चुनाव जितेपछि नेताहरूले जनताका लागी काम गर्लान भन्ने विश्वास उनीसँग पटक्कै छैन । “बरु भारत गएर दुई चारदिन बढी काम गरे दुईचार पैसा बढी आम्दानी हुन्छ,” उनी भन्छन् ।

उनीसँगै भारत जान लागेका सोही ठाउँका अरू ४ युवामध्ये कमल बोहरा पनि १६ वर्षको उमेरदेखि नै भारतको लुधियानाको एउटा कपडा कम्पनीमा काम गर्दै आएका छन् । आफूले पढ्न नपाएका कारण नेपालमा रोजगार नपाउने भएपछि भारतमा जानुपरेको गुनासा गर्छन् । “नेपालमा नोकरी नपाउने भएपछि यो चुनावमा भोट हालेर पनि केही हुँदैन” उनले भने, “नोकरी बचाउन चुनाव छोडेर जान लागेको हुँ । ढिलो गरे साहुले जागिरबाट निकालीदिन्छ । ”

हिउँदमा विदेशिनेको संख्या बढी

सुदूरपश्चिमका पहाडी जिल्लाका धेरैजसो व्यक्ति कामको खोजीमा भारत जाने गर्दछन् । कृषि पेशामा आबद्ध यहाँका जनता हिउँदमा खेतीकिसानीको काम नहुने भएकाले पनि यो बेला भारत जाने गरेका हुन् ।

प्रायःजसो घरैपिच्छे यहाँका युवा भारतको रोजगारीमा निर्भर छन् । ती युवा मौसमअनुसार नेपाल भित्रिन्छन् र भारत पस्छन् । दशैँतिहार मनाउन आएका युवा यतिबेला हिउँदे खेती लगाएर रोजगारीका लागि भारत जाने समय हो । केही युवा अहिले पनि निर्वाचनमा मतदान गरेर जाने तयारीमा रहे पनि अधिकांश युवा भने धमाधम भारत पस्न थालेका छन् ।

अहिले भारत जाने युवाको दिनहुँ आउनेक्रम बढिरहेको शैलेश्वरी यातायात व्यवसायी संघ बुकिङ काउण्टर दीपायलमा कार्यरत भोजबहादुर शाही बताउनुहुन्छ । उहाँका अनुसार अहिले दैनिक २५÷३० जनाभन्दा बढी यात्रु भारत जाने गर्दछन् । रासस

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ००:००