८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा सिद्धिचरण सङ्ग्रहालय बन्दै



कालिका खड्का
७ मंसिर, ओखलढुंगा ।
‘मेरो प्यारो ओखलढुंगा’ युगकवि सिद्धिचरण श्रेष्ठको निकै चर्चित कविता हो । कवि श्रेष्ठले भनेजस्तै सुन्दर पर्यटकीय नगरी बनाउनका लागि ओखलढुंगामा अहिले सिद्धिचरण सङ्ग्रहालय निर्माण भइरहेको छ ।

पञ्चवर्षीय योजनाअनुसार निर्माण कार्य शुरु भएको उक्त सङ्ग्रहालयको पहिलो तला निर्माण पूरा भइसकेको छ । सिद्धिचरण सङ्ग्रहालय समितिका सचिव धु्रवकुमार राजभण्डारीका अनुसार सङ्ग्रहालय निर्माण गर्न गत आर्थिक बर्षमा पर्यटन बोर्डबाट २० लाख प्राप्त भएको थियो । चालु आवमा बोर्डले २० लाख विनियोजन गरेको छ ।

“सिद्धिचरणले ओखलढुंगालाई चिनाउन जुन योगदान दिनुभयो, सोहीअनुरुप उहाँले प्रयोग गर्नुभएका सामग्री सङ्ग्रहालयमा राखिनेछ, पर्यटकका लागि अध्ययन गर्न लाभदायक हुन्छ” सचिव राजभण्डारीले भने ।

सिद्धिचरण सङ्ग्रहालय र सिद्धिचरण पार्क निर्माणका लागि पञ्चवर्षीय योजनाअनुसार तीन करोड खर्च लाग्नेछ । पुरातत्व विभागको प्राविधिक टोली आएर अध्ययन गरी थप निर्माण छिट्टै नै ठेक्कामार्फत अघि बढाइने छ ।

युगकवि श्रेष्ठको जन्म भएको ठाउँमा उनको सालिक निर्माण गरिएको छ । सालिकसंगै सङ्ग्रहालय र पार्क बनेपछि पर्यटकका लागि आकर्षक केन्द्रका रुपमा विकास हुनेछ । सदरमुकाममा सिद्धिचरणकै नामबाट नगरपालिकाको नाम पनि सिद्धिचरण नगरपालिका राखिएको छ ।

श्रष्टा पार्क निर्माण अन्तिम चरणमा

युगकवि श्रेष्ठको सङ्ग्रहालय अगाडि चार स्रष्टाको सम्मानस्वरुप ‘श्रष्टा पार्क’ निर्माण गरिएको हो । सो पार्कमा सालिक राख्न युगकवि श्रेष्ठ, रुम्जाटारमा जन्मनुभएकी नेपालकै पहिलो गायिका मेलवादेवी, चर्चित लोकगायक पाण्डव सुनुवार र नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला ‘प्रदीपकुमार राई’ को प्रतिमा तयार भइरहेको छ ।

स्रष्टा पार्क निर्माण समितिका अध्यक्ष ध्रुबकुमार राजभण्डारीले शुरुमा चार स्रष्टाको प्रतिमा राख्ने तयारी रहेको बताए । सो स्थानमा गायक रामेश श्रेष्ठको समेत प्रतिमा राख्ने तयारी छ । श्रष्टा पार्क निर्माणका लागि तत्कालीन क्षेत्र नं १ का सांसद तथा हाल प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा गरी ५५ लाख सांसद कोषको रकम प्रदान गरेका थिए ।

अध्यक्ष राजभण्डारीले भने, “सदरमुकाम बजार छेउमा स्रष्टालाई सम्मानका साथै पर्यटकीय दृष्टिकोणले पनि घुम्न जाने र केही समय बिताउन सुन्दर स्थल बन्छ ।”

यसरी रह्यो ओखलढुंगा नाम

पूर्वाञ्चलको सगरमाथा अञ्चलमा पर्ने ओखलढुंगा पहाडी जिल्ला हो । ओखलढुंगा प्राचीनकालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो । भीम मल्लले ओखलजस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहन गएको भन्ने भनाइ पनि छ ।

ओखलढुंगाको इतिहासबारे जानकार स्थानीय अगुवा युवराज दाहालका अनुसार करिब ४०० वर्षअगाडि काजी भीम मल्ल चीनबाट आफ्ना फौजसहित नेपाल आएका थिए । गाउँबाट धान उठाएर ल्याएको र कुटेर खान नपाएको हुनाले त्यही ठाउँमा धान कुटेर खाएको सम्झनामा भीम मल्लले नै ओखलढुंगा नामाकरण गरेका हुन् ।

उक्त ढुंगाको ओखल हालको ओखलढुंगा जिल्लाअन्तर्गत सिद्धिचरण नगरपालिका ५ मा अवस्थित सिद्धिचरण पार्कसंगै सुरक्षित रूपमा राखिएको छ । कवि सिद्धिचरणको कविता पढनेहरु निकै उत्कुस भएर ओखलढुंगा आउने गर्दछन् । साहित्यको उर्वर भूमि ओखलढुंगाका मुख्य शहर ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभञ्ज्याङ, कोशहाट, घोराखोरी आदि हुन् ।

जाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको विशेषता बोकेको ओखलढुंगा सांस्कृतिक रुपमा सम्पन्न छ । यहाँ क्षेत्री, ब्राह्मण, राई, सुनुवार, तामाङ, शेर्पा, नेवार, गुरुङ, विश्वकर्मा, परियार लगायतका जाति मिलेर बसेका छन् ।

प्रमुख धार्मिक क्षेत्रहरू चम्पादेवीको मन्दिर, कालिकादेवीको मन्दिर, तीनकन्या देवीको मन्दिर, सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, महादेवको मन्दिर र कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान रहेका छन् ।

त्यस्तै, ओखलढुंगा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भीमसेनस्थान, वटुकभैरव, गणेश मन्दिर थाक्ले र मानेभञ्ज्याङको सिमानामा रहेको किरातेश्वर झाँक्री गुफा आदि यस जिल्लाका प्रमुख धार्मिक क्षेत्र हुन् ।

ओखलढुंगाको प्रमुख पर्यटकीयस्थल पोकलीमा रहेको पोकली झरना, थामडाँडा र लगलगे डाँडा ‘दृश्यावलोकनका लागि’, सिद्धिचरण नगरपालिकामा पर्ने ऐतिहासिक ओखल आकारको ढुंगा, युगकवि श्रेष्ठको जन्मस्थल सिध्दिचरण पार्क, रुम्जाटार ‘राडीपाखी, भेडापालन, गुरुङ संस्कृति र विमानस्थलका लागि प्रसिद्ध’ आदि यहाँका प्रमुख पर्यटकीयस्थल हुन् ।

त्यस्तै देम्बाडाँडा पनि पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो । पोकलीबाट देम्बा हुँदै सोलुखुम्बुको पिके डाँडा जाने पदमार्ग छ । पर्यटक उक्त मार्ग भएर सगरमाथासम्म जाने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध खोटाङको हलेसी महादेव दर्शन गर्न आउनेका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल बन्न सक्छ ।

एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक नगरपालिका र सात गाउँपालिकामा छन् । कूल क्षेत्रफल एक हजार ७४ वर्ग किमी रहेको जिल्लाको जनसङ्ख्या पुरुष ६८ हजार ६८७ र महिला ७९ हजार २९७ गरी कुल एक लाख ४७ हजार ९८४ रहेको छ ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००