Logo

निर्वाचनमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिए पनि कार्यान्वयन भएन



५ मंसिर, चरिकोट ।
आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भने पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ ।

निष्पक्षताका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्ततः विवादमा फसेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटमा विगतमा हाकिमका आसेपासेलाई सजिलो स्थान दिइएको आरोप लागेकाले यो पटक गोलाप्रथा गर्ने भनिएपनि त्यसको धज्जी उडाएको कर्मचारीको गुनासो छ ।

गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गर्न भनिए पनि जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत बसेर गोलाप्रथामा नै तलमाथि गरिएको आशंका केही कर्मचारीले गरे । योपटक गोलाप्रथा गोलमाल पार्न केही कर्मचारी र कार्यालय लागेको कर्मचारी विकास चौलागार्इंको दाबी छ ।

बढी भत्ताको लोभमा कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखले आफ्ना नजिकका भाइ छिमेकी आफन्त लगायतको नामसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतमा पठाउन सफल भएको नाम नभन्ने शर्तमा एक मतदान अधिकृतले बताए । यसबारे प्रमुखजिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई सोध्दा कर्मचारी खटाउन गोलाप्रथामा कुनै चलखेल नभएको र गोलाप्रथाकै आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको बताए ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले गोलाप्रथाबाट कर्मचारी छनोट गरिसकेको र बिरामी सरुवा भएका कर्मचारी र जान्न भनेका केही कर्मचारीबाहेकको सूची तलमाथि नगरिएको जानकारी गराए ।
रासस

प्रतिक्रिया दिनुहोस्