७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा चुनावी रौनक छायो



कालिका खड्का
३० कात्तिक, ओखलढुंगा ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा ओखलढुंगामा चुनावी रौनकता निकै बढेको छ । आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलका उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा मत पार्न घरदैलो र भेलामा व्यस्त देखिन्छन् ।

चोक–चोकमा चुनावी बहस र छलफल भइरहेका छन् । कसको पक्षमा बढी मत आउने हो भन्ने अड्कलबाजी गर्नमा यहाँका मानिसहरु व्यस्त देखिन्छन् । अहिले जिल्लाका सबैजसो गाउँमा दलका उम्मेदवार जिताउने अभियानका साथ पर्चा र पम्प्लेटले भित्ता रंगिएका छन् भने हरेक दिन जिल्लाका एक दर्जनभन्दा बढी गाउँमा चुनावी कार्यक्रम भइरहेको भेटिन्छ ।

भूकम्पपीडितहरु घर बनाउन व्यस्त रहेका कारण उम्मेदवारले निर्माणस्थलमै पुगेर भोट माग्न थालेको छन् । कतिपय किसान धान काट्न व्यस्त किसानको खेतकै पुगेर मत मागिरहेका देखिन्छन् ।

दलले ठूला आमसभासंगै घरदैलो अभियानलाई प्राथमिकता दिइरहेका छन् । मोलुङ गाउँपालिकाका मित्रमिनु ढकालले भने– “ठूल्ठूला चुनावी सभामा गएर भन्दा पनि उम्मेदवारले हाम्रो घरमा आएर मत माग्दा निकै खुशी लाग्छ । त्यो मौकामा आफ्नो कुरा पनि राख्न पाइन्छ ।”

मतदातालाई मात्र होइन उम्मेदवार पनि घर–घरमा पुगेर दुःखसुखका कुरा सुन्दा आनन्द मानिरहेका छन् । प्रतिनिधिसभाका वाम गठबन्धनतर्फका उम्मेदवार यज्ञ सुनारले भने, “ठूला चुनावी सभासंगै मतदाताको मन जित्न दैलोमै पुगेको हुँ । मैले जिल्लाको विकासका लागि गरेका कामबारे जनतासंग छलफल गरेर बाँकी कामका लागि मत मागेँ ।” उनी गिट्टी कुटिरहेको, घर बनाइरहेको र धान काटिरहेको मतदातामाझ पुगेर आशीर्वाद माग्न पाउँदा निकै आनन्द लागेको बताउछन् । वाम गठबन्धनको एजेण्डा र मतदाताले दर्शाएको मायाका कारण चुनाव जित्नेमा उनी ढुक्क देखिन्छन् ।

प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार रामहरि खतिवडाले पनि घरदैलो अभियानलाई निकै प्राथमिकता दिएका छन् । उम्मेदवार खतिवडाले भने, “मतदाताको घरदैलोमा पुगेर मत मागिरहेको छु । चुनावी सभा र मतदातासंगको भेटघाटलाई मैले निकै प्राथमिकता दिएको छु ।” घर पुगेजस्तै मतदाताले पनि आफूलाई मत दिनेमा उनी आशावादी छन् ।

जिल्ला तहका नेतालाई सबै क्षेत्र पुग्न भ्याइनभ्याई छ । मतदातासंग कुरा गर्दागर्दा उम्मेदवारको स्वर भास्सिएको छ । अधिकांश स्थानमा सडक पुगेकाले दौडधूप गर्न केही सहज भएको छ । विगतमा दुई वटा निर्वाचन क्षेत्र रहेको यो जिल्ला प्रतिनिधिसभा निर्वाचनका लागि एउटै भएपछि उम्मेदवारलाई भ्याइनभ्याई भएको हो । वाम गठबन्धनका तर्फबाट प्रदेश ‘ख’ का उम्मेदवार मोहनकुमार खड्का भन्छन्, “मतदाताको घर–घरमा उम्मेदवार एजेण्डा र प्रतिबद्धता साथै लिएर मतदातासामु पुगिरहेका छौँ ।”

चुनावी प्रचार कति धेरै गर्ने भन्ने विषयमा उम्मेदवारबीच प्रतिस्पर्धा जस्तै छ । अर्को दलका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने होड पनि चलेकै छ ।

निर्वाचनका लागि ओखलढुंगामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र छन् । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा नौ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, वाम गठबन्धन एमाले र माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान लोकतान्त्रिक, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टी नेपाल लगायतबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

वाम गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा मालेले भने छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । मालेले प्रतिनिधिसभा र जनमोर्चाले प्रदेशसभाका दुवै सिटमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभातर्फका उम्मेदवारहरु नेपाली कांग्रेसतर्फबाट रामहरि खतिवडा, वाम गठबन्धन एमाले तर्फबाट यज्ञराज सुनुवार, संघीय समाजवादी फोरमबाट युद्धबहादुर राई, संघीय खुम्बुवान लोकतान्त्रिकबाट चन्द्रविक्रम राई, नयाँ शक्ति नेपालबाट प्रभुराम श्रेष्ठ, देशभक्त जनगणतान्त्रिकबाट रुद्धकुमार फुयाँल, मंगोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा माले बाट केशव रम्तेल र जनमोर्चा नेपालबाट कुन्तादेवी खत्री छन् ।

प्रदेश ‘क’ मा कांग्रेसबाट मित्रसेन दाहाल, वाम गठबन्धन एमाले अम्वीरबाबु गुरुङ, संघीय समाजवादी फोरमबाट नेत्रबहादुर नेम्वाङ, नयाँ शक्ति नेपालबाट मेखराज खड्का, देशभक्त जनगणतान्त्रिकबाट तेञ्जिङ शेर्पा, मंगोल नेशनल अर्गनाइजेशनबाट कानुरी शेर्पा, जनमोर्चा नेपालबाट सञ्चमाया राई उम्मेदवार छन् ।

त्यसैगरी, प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रदीपकुमार सुनुवार, वाम गठबन्धन माओवादी मोहनकुमार खड्का, संघीय समाजवादी फोरमबाट दिनेशकुमार राई, नयाँ शक्ति नेपालबाट टंकनाथ अधिकारी, देशभक्त जनगणतान्त्रिकबाट विष्णु खड्का र स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली उठेका छन् ।

उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार अभियानमा तीव्ररुपमा लागिरहेका छन् । यस जिल्लामा एक लाख दुई हजार २५० मतदाताले निर्वाचनमा मतदान गर्ने छन् । ओखलढुंगामा एक नगरपालिका, सात गाउँपालिका र ७५ वडा रहेका छन् । ती वडामा ७८ मतदानस्थल र १४१ मतदान केन्द्र रहेका छन् ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००