१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातामा रहेको आशंका मेट्न एमालेको आग्रह



३० कात्तिक, काठमाडौँ ।
नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने एकसूत्रीय काम गरी मतदातामा रहेका आशंका मेट्न सरकारसंग आग्रह गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता विपरीत सरकार र सत्तारूढ दलबाट काम कारबाही भएको जनाउँदै त्यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।

कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा केही दिनयता काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, मोरङ लगायतका जिल्लामा निर्वाचन आचारसंहिता विपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग भइरहेको जनाउँदै काठमाडौँ क्षेत्र नं १ र ९ मा नेपाली कांग्रेसका तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिता विपरीत रहेको उल्लेख गरेको छ ।

‘यस कार्यलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन आयोगको गम्भीर ध्यानाकषर्ण गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच वाम गठबन्धनमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न जिल्लाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न व्यस्त छन् ।

उनीहरुले बिहिबार स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजना हुने चार संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००