४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीमा नदीजन्य पदार्थको अव्यवस्थित दोहन

लेखक स्थानीय खबर १७ माघ २०७४, बुधबार २ मिनेट पढाइ

१७ माघ, बाबियाचौर– म्याग्दी ।
म्याग्दीमा अव्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन भइरहेको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुपपरिवर्तन हुनेगरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुंगा, गिट्टी, बालुवाको उत्खनन भइरहेको हो ।

नदीजन्य बस्तुको उत्खनन गर्ने जिम्मा लिएका व्यवसायीले सम्झौता विपरीत मेसिनको प्रयोग गरेर उत्खनन गरेका हुन् । डोजर लगाएर, खोलाको धार परिवर्तन गराई ढुंगा गिट्टी बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

सरकारी निकाय र व्यवसायीको मिलेमतोमा नदीजन्य बस्तुको अव्यवस्थित रुपमा उत्खनन हुने गरेको स्थानीयको गुनासो छ । जिल्ला समन्वय समिति म्याग्दीले विभिन्न निर्माण कम्पनीलाई नदी किनारको ढुंगा, बालुवा उत्खनन गर्न ठेक्का दिने क्रममा वातावरणीय असर नपर्ने गरी मजदुरको प्रयोग गर्ने सहमति भएको छ ।

सारेमारे, ठूलोबगर, डम्मरा, बगुवाखोला, बाबियाचौर, रातोपहिरो, तिप्ल्याङ, पोखरेबगर लगायतका ठाउँमा व्यवसायीले सम्बन्धित निकायको आँखा छलेर दिउँसै र रातको समयमा डोजर प्रयोग गरेर उत्खनन गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

अनुगमनका क्रममा आइतबार राति सारेमारेमा डोजर प्रयोग गरेर अवैध रुपमा नदीजन्य बस्तुको उत्खनन गरेको भेटिएपछि डोजरको चाबी र तीन वटा टिपर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध रुपमा उत्खनन गर्ने व्यवसायीलाई सम्बन्धित निकायले भने कारबाही गर्नुको साटो सचेत बनाएर मात्र छाडेका छन् । आगामी दिनमा डोजरको प्रयोग नगर्ने सहमतमा डोजर र टिपर छाडिएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए ।

पर्वतको लस्ती, म्याग्दीको बगुवाखोलामा रहेका क्रसर उद्योग क्षेत्रमा डोजर प्रयोग गरेर नदीको धार परिवर्तन गराइ जथाभावी रुपमा नदीको दोहन भएको गुनासो छ । लस्तीमा काली क्रसर उद्योगका सञ्चालक विप्लप हमालले सम्झौता अनुसारनै उत्खनन गरिएको दाबी गरे ।

सडक, भवन, जलविद्युत्, सव स्टेशन लगायत दर्जनौ राष्ट्रिय गौरवका आयोजना ढुंगा, गिट्टी र बालुवाको अभावमा निर्माणकार्य प्रभावित भएकाले नदीजन्य बस्तुको उत्खननमा खुकुलो बनाइनुपर्ने हमालको भनाई छ । वातावरणीय असरप्रति सचेत रहेको हमाल बताउछन् ।

चुरे र तराई क्षेत्रका नदी क्षेत्रलाई आधार मानेर बनाइएको नदीजन्य बस्तुको उत्खनन सम्बन्धी नीतिगत व्यवस्था पहाडी क्षेत्रमा अनुकूल नभएको व्यवसायीको दाबी छ ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।