६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन मन्त्री जितेन्द्र देवसहित तीन जनालाई स्पष्टीकरण



 

२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आचार संहिताविपरित सरकारी सवारी साधन दुरुपयोग गरि निर्वाचनमा भाग लिएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सरकारी विद्यालय परिसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा देवले भाग लिएका थिए ।

आयोगले ‘आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनु पर्ने हो ?’ भनी मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यसैगरि आयोगले कांग्रेस सप्तरीका सभापति तथा सप्तरी जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई पनि स्पष्टीकरण सोधेको छ । यादवलाई भने सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा र भोजभतेर आयोजना गरेको भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ ।

सभापति यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिताविपरीत भएको देखिँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाईंलाई कारबाही किन नहुनुपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरिन्छ ।”

आयोगले सप्तरीको खुरहुरियास्थित जनता माविका प्रधानअध्यापक सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिनु निर्वाचन आचारसंहिताविपरीत देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००