१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं तिहारमा विदा नबस्न एलडीओहरूलाई निर्देशन



  • रञ्जित तामाङ

काठमाडौं, १८ असोज 
सरकारले स्थानीय विकास अधिकारी (एलडीओ)हरूलाई दशैं तिहारको विदामा समेत स्थानीय तह पुर्नसंरचनासम्बन्धि काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा भएका एलडीओहरूलाई पनि साविकको जिविसमै बसेर काम गर्न निर्देशन दिएको छ । 
मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न एलडीओहरूलाई सार्वजनिक विदा नदिने बताए । स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न सबै जिल्लामा एलडीओ संयोजक रहेको प्राविधिक समिति क्रियाशील छ । 
“स्थानीय निर्वाचनका लागी स्थानीय तहको पुर्नसंरचना चाँडै गर्नुपर्ने बाध्यता छ । त्यसैले सार्वजनिक विदामा समेत काम गर्न निर्देशन दिइएको हो,” पाण्डेले भने, “पर्व विदा पनि सार्वजनिक विदा हो । दशैं तिहारमा पनि मन्त्रालयको स्वीकृतिविना एलडीओ विदामा बस्न पाइने छैन ।” 
यसअघि सरुवा भएका एलडीओहरूलाई जिल्लाको स्थानीय तह पुर्नसंरचना नटुङ्गिएसम्म साविककै जिविसमा बसेर काम गर्न निर्देशन दिएको छ । साथै सरुवा रद्द नभएको पनि उनले बताए । “सरुवा रद्द भएको होइन । पुर्नसंरचनाको काम नसकिएसम्म जिल्ला नछोड्नु भनिएको हो,” उनले भने, “पुर्नसंरचनाको काम सकिए पछि सरुवा भएकै ठाउँमा जानु पर्नेछ । अन्य कर्मचारी सरुवा भएअनुसार आफ्नो क्षेत्रमा अहिले नै जानु पर्नेछ ।” 


सहमति भएका जिल्लामा पनि संख्या र सीमाना हेरफेर हुने 
एकहप्ता अघिसम्म ५० भन्दा बढी जिल्लाबाट पुर्नसंरचना प्रस्ताव सहमति भएर स्थानीय तह पुर्नसंरचना आयोगमा पेस भइसकेको थियो । गत ९ गते नेपाली कांग्रेस, एमाल र माओवादी केन्द्रबीच इलाकालाई आधार बनाउने सहमति भएपछि पुर्नसंरचनाको काम ठप्प छ । सोही सहमतिअनुसार ११ गते स्थानीय विकास मन्त्रालयले नयाँ कार्यशर्त (टीओआर) समेत पठाएको थियो । 
अधिकांश जिल्लाबाट पुर्नसंरचना प्रस्ताव आइसकेको र बाँकी पनि आउने क्रम रहेका बेला नयाँ टीओआर आएपछि आयोग असन्तुष्ट थियो । असोज १७ गते आयोगका अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता भीम रावलवीच छलफल भएपछि इलाकालाई प्रमुख आधार नमान्ने सहमति भएको थियो । 
इलाकालाई प्रमुख आधार नमान्ने भएपनि सहायक आधार मान्न आयोग पनि सहमत भएको छ । इलाकालाई सहायक आधार मान्ने भएपछि सहमति भएका जिल्लाहरूमा समेत संख्या र सीमाना हेरफेर हुनेछ । सबै जिल्लामा हेरफेर हुने भएपछि एलडीओहरूलाई विदामा पनि काम गर्न निर्देशन दिएको हो । 

प्रकाशित मिति : १८ आश्विन २०७३, मंगलबार ००:००