Logo

फलेवासमा मकै भण्डारण घर निर्माण




लक्ष्मीप्रसाद सापकोटा

फलेवास— पर्वत, ८ कात्तिक ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको फलेवासमा मकै भण्डारण घर निर्माण भइरहेको छ ।

फलेवास नगरपालिका ५ खानीगाउँमा निर्माण भइरहेको सो गोदामघरमा २५ टन मकै भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदामघर निर्माण गर्न लागेको हो ।

खानीगाउँ, मुडिकुवा, शंकरपोखरी, थापाठाना, लिमिठाना र ठानामौलामा उत्पादन हुने मकैको बीउ थन्क्याउन गोदामघर बनाउन लागिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए । कृषकले उत्पादन गर्ने मकैको बीउ जोनले खरिद गरेर बजारीकरण गर्ने छ ।

गत आर्थिक वर्षबाट निर्माण थालिएको गोदामघर निर्माणका लागि अहिलेसम्म २३ लाख खर्च भइसकेको छ । निर्माण चालु आर्थिक बर्षको अन्तिमसम्ममा सक्ने लक्ष्य छ । गत आर्थिक बर्षदेखि मकै जोन कार्यक्रम सञ्चालन भएपछि समूह र सहकारी गठन गरेर कृषकले मकै उत्पादन गरिरहेका छन् ।

यस वर्ष झकलक कृषि सहकारीले १५ टन, आम्बोट कृषक समूहले पाँच टन र लिमिठाना बीउ उत्पादक समूहले तीन टन मकैको बीउ उत्पादन गरेको छ । गोदामघर निर्माण भइनसकेकाले यस वर्षको बीउ सिधै बजार मूल्यका आधारमा बिक्री गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

सिङ्गो गाउँ खरायोपालनमा
यहाँको एक गाउँका पूरै घरधुरी व्यावसायिक रुपमा खरायोपालन गर्दैआएका छन् । जलजला गाउँपालिका अन्तर्गत पर्ने डाँडाकटेरीका बासिन्दा व्यावसायिक रुपमा खरायो पाल्न थालेका हुन् ।

छोटो समयमा धेरै फाइदा लिन सकिने भएकाले यहाँका कृषक खरायोपालनमा लागेका हुन् । डाँडाकटेरीका २३ घरधुरीले नै खरायोपालनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन् । यहाँका प्रत्येक घरमा १० देखि २० वटासम्म खरायो पालिएको छ । गाउँबाटै बिक्री हुने गरेको स्थानीयवासी शीतबहादुर पाइजाले बताए ।

उनले भने, “वार्षिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी हुन्छ,” उनले भने । विगत १० वर्षदेखि यहाँ व्यावसायिक रुपमा खरायो पाल्न थालिएको हो । खरायो प्रत्येक पाँच–पाँच महिनामा ब्याउँछ । एक पटकमा पाँच देखि १२ वटासम्म बच्चा जन्माउने गर्दछ । अहिले बजारमा स्थानीय जातको कुखुराको मासु प्रतिकिलो ४०० मा बिक्री भइरहेको छ भने खरायोको मासु ३०० मा बिक्री हुन्छ ।

विगत १० वर्षदेखि व्यावसायिक रुपमा खरायोपालन गर्दै आएका स्थानीयवासी मनबहादुर पुन हरेक वर्ष ४० हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । स्थानीयस्तरमै पाइने घाँसपात, जौ, कोदो, मकै, फापरजस्ता अन्नबाली दानाका रुपमा दिने गरेको उनले बताए । खरायो गाउँघरमै बिक्री हुने गरेको छ ।

मह उत्पादनबाट वार्षिक बाह्र लाख
मोदी ५ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिना व्यावसायिक रुपमा मौरीपालन गरेर वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् ।

उनको घरमा झण्डै १०० वटा मौरीका घार रहेका छन् । एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले सो व्यवसायबाट गतिलो कमाई गर्न सफल भएका छन् । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् ।

विसं २०५७ बाट व्यावसायिक रुपमा माहुरीपालन गर्दैआएका तिमिल्सिनाले उत्पादन गरेको मह घरबाटै बिक्री हुन्छ । उनले वर्षमा दुई दर्जनभन्दा बढी घारसमेत बिक्री गर्दैआएका छन् । घरबाटै प्रतिकिलो ७०० का दरले तिमिल्सिनाले मह बिक्री गर्छन् । उनले एउटा याममा सात क्विन्टलभन्दा बढी मह काढ्ने गरेको बताए ।

एपी सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्य आम्दानी गर्न सकेको उनको भनाइ छ । मौरीपालन व्यवसायबाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको उनी बताउछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्