५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहसचिव विदेश डुल्दा दशैंको मुखमा बृद्धबृद्धा, अपाङ्ग, एकल महिला भत्ता पाउनबाट बञ्चित हुँदै



रञ्जित तामाङ

काठमाडौं, २९ भदौ

सरकारी अधिकारीहरूको उदासीनताका कारण साढे २२ लाख बृद्धबृद्धा, एकल महिला, अपाङ्ग लोपोन्मुख जनजाति, अपाङ्गले दशैंमा सामजिक सुरक्षा भत्ता नपाउने देखिएको छ ।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख तथा सहसचिव केवल भण्डारी चीन भ्रमणमा गएका कारण सामाजिक सुरक्षा भत्ता बितरणको निर्णय हुन नसकेको र दशैंको बिदा सुरू हुन केही दिन मात्र बाँकी रहेकाले भत्ता नपाउने देखिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार अहिलेसम्म भत्तावापतको रकम विनियोजन भएको छैन ।

“अहिलेसम्म बजेट निकासा भएको छैन । निकासा भइहाल्यो भने पनि कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)बाट गाउँपालिका र नगरपालिकाको खातासम्म पुग्ला,” मन्त्रालय स्रोतले भन्यो, “स्थानीय तहलाई पनि बाँड्न समय चाहिन्छ, त्यसैले यो बर्ष लाभग्राहीले दशैंमा भत्ता पाउने देखिँदैन ।”

अर्थ मन्त्रालयको बजेट महाशाखाका कर्मचारीहरूका अनुसार भण्डारी शनिवार राति मात्रै नेपाल आईपुग्ने छन् । आईतबारदेखि उता शनिवार, संविधान दिवस र घटस्थापनाको विदाका कारण एक हप्ता मात्रै सरकारी कार्यालय खुल्नेछ । यति छोटो समयमा भत्ता नपाउने निश्चितजस्तै छ ।

यस्तो छ, समस्या 

विगतका बर्षहरूमा सामाजिक सुरक्षा भत्तावापतको बजेट केन्द्रीय पञ्जीकरण विभाग हुँदै स्थानीय निकायमा विनियोजन हुन्थ्यो । यो बर्षदेखि भत्तावापतको रकम कोलेनिका हुँदै गाउँपालिका र नगरपालिकाको खातामा सिधै विनियोजन हुनेछ । अब गाउँपालिका र नगरपालिकाको सर्बसञ्चित कोष रहेका कारण सरकारले स्थानीय तहलाई विनियोजन गरेको बजेट फ्रिज नहुने व्यवस्था छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम संघीय सरकारले सञ्चालन गर्छ । यस कार्यक्रमवापत लाग्ने अार्थिक दायित्व सरकारले नै बेर्होछ । समस्या के भने, स्थानीय तहको सर्बसञ्चित कोषमा सरकारले विनियोजन गर्ने बजेट फ्रिज नहुने व्यवस्था छ । भत्तावापतको बजेट पनि स्थानीय तहको सर्बसञ्चित कोषमा विनियोजन गर्दा बितरण गरेर बाँकी रहेको रकम फ्रिज हुँदैन । अर्थ मन्त्रालय भने बाँकी रहेको रकम स्थानीय तहको सर्बसञ्चित कोषमा नराखेर संघीय सरकारको सञ्चित कोषमै फर्काउनु पर्ने अडानमा छ ।

“बितरण गरेर बाँकी रहेको रकम फ्रिज भएर संघीय सरकारको सर्बसञ्चित कोषमा फिर्ता नआउने देखिएपछि छुट्टै सञ्चालन खाता खोल्नु पर्ने व्यवस्था गरेको छ,” स्रोतले भन्यो, “एकल काेष खाता प्रणाली (टीएसए) बाट  बितरण गर्ने कि पुरानै तरिकाले बितरण गर्ने भन्नेमा पनि अन्योल छ । त्यसैले पनि अहिलेसम्म बजेट विनियोजन भएको छैन ।”

समस्याहरू समाधान नगरि सरकारी अधिकारीहरू विदेश भ्रमणमा गएका कारण भत्ता पाउनबाट लाभग्राही बञ्चित हुने देखिएको हो । सामान्यतयः पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता दशैं अगाडी नै बितरण गर्ने परिपाटी छ । नेपालीहरूको प्रमुख चाडहरू मध्येको दशैं, तिहार, छठ असोज र कातिकमा पर्ने भएकाले पहिलो चौमासिकको भत्ता बितरण चाड पर्वलक्षित हुँदै आएको छ । स्थानीय विकास मन्त्रालय प्रवक्ता रूद्रसिंह तामाङले भने केही दिनभित्रै विनयाेजन गरिसक्ने दाबी गरे ।

ज्येष्ठ नागरिकले १ हजार रुपैयाँ भत्ता र १ हजार रुपैयाँ औषधी उपचारवापत गरि मासिक २ हजार रुपैयाँ पाउँदै आएका छन् । यसै गरि एकल महिला र विधवाले १ हजार रुपैयाँ पाउँछन् । लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गले २ हजार रुपैयाँ पाउँछन् । यसैगरि कर्णाली र दलित वालवालिकाले मासिक ६ सय रुपैयाँ वालसंरक्षण अनुदान पाउँछन् । अतिअशक्त अपाङ्गले ६ सय रुपैयाँ पाउँछन् । पञ्जीकरण विभागका अनुसार मुलुकभर भत्ता लिने नागरिकको संख्या साढे २२ लाखभन्दा बढी छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार ००:००