९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा बाढीबाट सप्तरीमा १ हजार परिवार विस्थापित, उद्धार जारी



सुरेश झा/अरुण यादव

२८ साउन, राजविराज । चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारे वर्षाका कारण सप्तरीको ३ हजार घर डुबानमा परेको छ । साथै, १ हजार परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित भएका छन् ।

जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सदरमुकाम राजविराज लगायत जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् ।

बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयको कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ । राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको पूर्वी भेगको मोहुली खोलामा आएको बाढीले कंचनरुप नगरपालिका– ७ र ८ वडा, तिरुहुत गाउँपालिकाको भेडिया, मैनाकडेरी, गोइठी पिप्राहीलगायतको ठाउँ डुबानमा परेको स्थानीय विनाइ तिवारीले बताए । हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ ।

त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द हुँदा सयौँ घर डुबानमा परेको हनुमानगर कंकालनी नगरपालिकाका श्यामसुन्दर खड्काले बताउनुभयो ।

यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् । खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।

नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइतले बताए । यसैगरि कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रा लिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् ।

उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ ।

त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्ड वालसमेत भत्केको छ । उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ । मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी कृषबहादुर कटुवालले पानीको बहाव नहुने क्षेत्रमा डोजर लगाएर पानी निकासको लागि बाटो काटने, नदी कटान क्षेत्रमा बोरामा बालुवा हालेर राख्ने र सुरक्षा निकाय तथा गैर सरकारी संस्थालाई सञ्चालन गरिएको जानकारी दिए । साथै क्षतिको विवरण समेत संकलन कार्य भइरहेको र उद्धार र राहत वितरणको कार्यसमेत भइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७४, शनिबार ००:००