काठमाडौं । ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ । पछिल्लो मतपरिणामअनुसार एमाले ३४, नेपाली कांग्रेस ३१, नेकपा (माओवादी केन्द्र) १५, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक/एक स्थानीय तहमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार उपाध्यक्ष तथा उपप्रमुखमा एमालेले ३४, कांग्रेसले २८, माओवादी केन्द्रले १४, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । ताप्लेजुङको फाक्तालुङ गाउँपालिकाको मतपेटिका सङ्कलन हुन अझै बाँकी छ भने अछामको चोरपाटी गाउँपालिकाको वैजनाथ मावि हाडाकोटमा कार्यकर्ताभित्र प्रवेश गराउने विषयमा विवाद भएका कारण मतगणना सुरु हुन बाँकी छ ।
झापाको बुद्धिशक्ति गाउँपालिका–१ मा उम्मेदवार र उद्घोषकले घोषणा गरेको परिणाम तथा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको मत संख्या र निर्वाचन अधिकृतको कार्यालयमा टिपाएको मत संख्या फरक परेका कारण स्पष्ट नभएसम्मका लागि ती दुवै स्थानको मतगणना स्थागित गरेको आयोगले जनाएको छ ।
यस्तै, कपिलवस्तुको बांडगङ्गा–२ को मतपरिणाम सुनाउने क्रममा कर्मचारीले गलत संख्या उद्घोष गरेकाले गए रातिदेखि मतगणना स्थगित भएको छ । यसैगरि झापाको दमक नगरपालिका–१ मा एमाले र राप्रपाबीच बराबरी मत ८ सय १ भएपछि स्थगन भएको थियो त्यहाँ मतगणना सुरु भइसकेको आयोगले जनाएको छ । अहिले २४७ स्थानीय तहमा मतगणना जारी छ । रासस
प्रतिक्रिया