६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा सामाजिक सुरक्षा भत्ता निकासा भएन



लमजुङ । लमजुङमा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या भएको छ । आर्थिक बर्ष ०७३/७४ अन्तिम चौमासिक भत्ता जिल्ला समन्वय समितिबाट निकासा नहुँदा समस्या भएको हो ।

सामाजिक भत्ताअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र दलित बालबालिकालाई प्रदान गरिने सो भत्ता जिल्ला समन्वय समितिबाट अझैसम्म निकासा भएको छैन । जेठ १५ गतेभित्र निकासा भइसक्नुपर्ने रकम एक महिना बित्दा पनि निकासा नभएको स्थानीय तहका कर्मचारीहरूले बताएका छन् ।

जिल्ला समन्वय समितिबाट निकासा भएको ३५ दिनभित्र लाभग्राहीले भत्ता लिन पाउने व्यवस्था छ । सो भत्ता वितरण गरी असार मसान्तभित्रै जिल्ला समन्वय समितिमा प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ । “आधा असार सकियो, अझै रकम निकासा भएको छैन, कहिले वितरण गर्ने, कहिले प्रतिवेदन बुझाउने ?” दूधपोखरी गाउँपालिकाका–२ का सचिव खम्मबहादुर बोगटीले भने, “गाउँ पुग्न तीन दिन लाग्छ, भत्ता वितरण गर्न एक हप्ता लाग्छ ।”

भत्ताको पर्खाईमा बसेका लाभग्राहीले फोन गरेर हैरान बनाएको दुधपोखरी– १ का सचिव मुक्तिराम परियारले गुनासो गरे । स्थानीय तहको पुनःसंरचनापछि खाता सञ्चालन नहुँदा भत्ता वितरणमा ढिलाइ भएको सो जिल्ला समन्वय समितिले जनाएको छ । कार्यालयको कामले जिल्ला बाहिर जानु परेकाले भत्ता निकासामा ध्यान दिन नसकेको स्थानीय विकास अधिकारी डिल्लीराम अधिकारीले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००