७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकटताले छेकेन, दार्चुलाको सबै वडाबाट अनलाईन घटना दर्ता



काठमाडौं । सुगम क्षेत्रका कतिपय स्थानीय तहले अझै पनि जन्म, मृत्यु, बसाइँसराई, विवाह र सम्बन्ध बिच्छेदसम्बन्धी घटना अनलाईनबाट दर्ता गर्न आनाकानी गरिरहेको छ ।

तर दुर्गम मानिने दार्चुला जिल्लामा भने सबै स्थानीय तहले अनलाईनमार्फत घटना दर्ता गर्न थालेका छन् । वडामा इन्टरनेट नहुँदा पनि स्थलगत रुपमा दर्ता गरिएको घटनाको बिबरणहरूलाई पालिकाको केन्द्रमा ल्याएर अनलाईन प्रविष्टी गर्दै आएको छ ।

व्यास गाउँपालिकाका सूचना प्रविधी अधिकृत शिवराज भट्टले लगभग सबै वडामा इन्टरनेट पुगेको बताए । ब्रोडब्यान्ड इन्टरनेट नपुगे पनि गाउँपालिकाले नीजि क्षेत्रको इन्टरनेट सेवा लिईरहेको छ । गाउँपालिकाले गत माघदेखि पूर्ण रुपमा अनलाईन घटना दर्ता गर्न थालेको हो ।

“व्यवास गाउँपालिकाले सबै घटना दर्ता अनलाईनमार्फत गर्न थालेको छ,” बडुले भने, “वडामा इन्टरनेट चलेन भने पनि स्थलगत रुपमा दर्ता गरिएको घटनालाई पालिकाको केन्द्रबाट अनलाईनमा दर्ता गरिरहेका छौँ ।”

गाउँपालिकाले सेवाग्राहीहरूलाई पनि घटना दर्ताको अनलाईन फारमहरू भर्न सिकाएको बडुले बताए । अहिले सबैजसोसँग सुविधायुक्त मोबाईल हुने हुँदा सेवाग्राहीको सिकाई पनि प्रभावकारी भएको बडुको अनुभव छ ।

“मोबाईलबाट फारम भरेर हामीलाई टोकन नम्बर दिन्छन् । त्यहीअनुसार दर्ता गरेर प्रमाण पत्र जारी गर्छौँ,” बडुले भने, “प्रमाणपत्र केन्द्रबाटै जारी भए पनि गाउँपालिकाले वडामा लगेर सेवाग्राहीलाई प्रदान गर्छ ।”

व्यासको सबैजसो वडा अहिले पूर्ण रुपमा अनलाईन घटना दर्ता हुन थालेको छ । वडा नं. ३ सिनामा भने विकटता र कर्मचारी अभावले पालिकाको केन्द्रबाट अनलाईन घटना दर्ता हुँदै आएको छ । वडा नं.

३ मा वडा सचिवको पद रिक्त रहेको र उक्त वडाको प्रशानिक जिम्मेवारी वडा नं. ४ को सचिवले सम्हालिरहेका छन् ।

“समग्र पालिकामै जनशक्ति अभाव छ । त्यसमाथी बेलाबेलामा वडा नं. ३ मा जसरी दरबन्दीमा भएकै पदहरू रिक्त भइदिन्छ,” बडुले भने, “जनशक्ति र इन्टरनेट अभाव भए पनि पालिकाको कन्द्रमा गएर समयमै घटना दर्ता गराईरहेका छौँ ।” धेरै हिँउ पर्ने वडाहरूमा इन्टरनेट नआउने समस्या रहेको बडुले बताए ।

व्यास नगरपालिकाको वडा नं. १ मा पर्ने लिपुलेक क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद चलिरहेको छ । त्यस क्षेत्रका बासिन्दाहरूको पनि घटना दर्ता हुँदै आएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार व्यास गाउँपालिकासहित दार्चुलाका सबै स्थानीय तहले अनलाईन मार्फत घटना दर्ता गर्न थालिसकेका छन् ।

जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराईसम्बन्धी घटना अनलाईनमार्फत दर्ता गर्दा विभागको केन्द्रीय रेर्कडमा बिबरण आइपुग्छ । बिबरण अद्यावधिक हुँदा समाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको मृत्यु भए स्वतः लगत कट्टा हुन्छ ।

साथै भत्ता पाउने लाभग्राही थपिए वा जन्मिए भत्ता विभागबाट भत्ता वापतको रकम स्वतः विनियोजन हुन्छ ।

विभागका अनुसार अहिलेसम्म ५ हजार ९६४ वटा वडाबाट अनलाईन घटना दर्ता भइरहेको छ । आगामी आर्थिक बर्षभित्र देभरका ६ हजार ७४३ वटै वडाबाटै अनलाईन घटना दर्ता गराउने विभागको लक्ष्य छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ००:००