६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा




बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ ।

यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ । विसं २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । निकुञ्ज तथ्याङ्कअनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीनको ज्यान गइसकेको छ ।

कात्तिक २३ गते शनिबार जङ्गलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मङ्गलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आर्थिक वर्ष २०७५÷७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्याङ्क छ । उनीहरूलाई क्षतिपूर्तिवापत निकुञ्जले ६० लाख ९३ हजार ४२ उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४÷७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पु¥याएका थिए । उक्त आवमा वन्यजन्तुपीडितलाई १४ लाख २८ हजार ७२ रकम वितरण गरिएको निकुञ्जले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७४÷७५ मा ७२ वन्यजन्तुको मृत्यु भएको थियो भने आव २०७३÷७४ मा ८३ वन्जन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । आव २०७५÷७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ । आव २०७४÷७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।

देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ । रासस

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ००:००