१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक महत्व बोकेको लुमरेङकोट संरक्षणको अभावमा जीर्ण बन्दै




लक्ष्मीप्रसाद सापकोटा

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्व बोकेको लुमरेङकोट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको पर्वतको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधारको अभावमा अभावमा ओझेलमा परेको हो ।

नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालको रुपमा प्रयोग हुने सामग्री रहेका छन् । यस्ता ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षणको अभावमा हराउने खतरा बढेको छ । भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसे कालमा निकै शक्तिशाली मानिन्थ्यो ।

राजाको दरबार रहेको कोटमा अहिले पनि मन्दिर र सत्तल छ । सत्तलमा एउटा दराजमा युद्धमा प्रयोग भएका तरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् तर यी सामग्रीमा रङरोगन गर्दा यसको ऐतिहासिकता हराएको छ । कुनै कुनै हतियारमा सन् १७३४ एडी लेखेकोसमेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताए । पुरातात्विक महत्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीय तवरबाट संरक्षणको प्रयास थालिएको उनले बताए ।

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी रहेको पाइन्छ । उनका छोराहरु चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै पनि राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन सकेका थिएनन् । तत्कालीन समयमा शक्तिशाली मानिने पैंयुकोटे राजाले जासुसी गरेर छोराहरु विहादीको फाँटमा रोपाइँ गर्न गएको मौका छोपी लुमरेङकोटमा आक्रमण गरेका थिए । आक्रमणमा परेर चतुर सिंहको कोटमै मृत्यु भएको थियो भने एक छोराको बीच भागमा र एकको रोपाइँ गर्ने स्थानमा नै मृत्यु भएको थापाले बताए । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै पनि भेटिने उनको भनाइ छ । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैंयुकोटमा सरेको थियो ।

पर्वतको विहादी, पैंयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढाका दृश्य देख्न सकिन्छ । यहाँ वनभोजका लागि टाढा टाढाबाट युवायुवती आउने गरेका छन् । गत वर्ष प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउनका लागि गाउँपालिकाले प्रयास गरिरहेको उनले बताए ।

लुमरेङकोट पुगेर पर्वतबाट निर्वाचित सांसद पदम गिरीले ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न आग्रह गरे । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउका लागि प्रयास गर्ने प्रतिबद्धता पनि उनले जनाए । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार ००:००