१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदी गाउँपालिकाः पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र ३ वर्षदेखि अलपत्र




पर्वत । किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ ।

मोदी गाउँपालिका २ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ ।

जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्न लगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा ०७३÷०७४ मा निर्माण थालिएको थियो । कोल्डस्टोर बनाउन मोदी २ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल पाँच आना जग्गामा भवन निर्माण शुरु गरिएको हो । निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । “बजेट विनियोजन भएपछि काम थाल्यौँ”, उनले भने, “लागत मूल्याङ्कनअनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगेन ।”

दुईतले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन् । भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ । भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ ।

देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो । यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ । मौसममा ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १५० मा बिक्री हुने किसानले बताएका छन् ।

विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताए ।

अलैँचीले बजार नपाएपछि कृषक समस्यामा

व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका पर्वतका किसान यतिखेर अलैँची बिक्री नहुँदा समस्यामा परेका छन् । जिल्लाको मोदी, कुश्मा, फलेबास र महाशीला गाउँपालिकामा व्यावसायिकरुपमा अलैँची खेती गर्दै आएका कृषकले अलैँचीले बजार नपाएको गुनासो गरेका हुन् । यी क्षेत्रमा झण्डै २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

पर्वतको मोदी गाउँपालिका–१ भूकका किसानले राम्रो आम्दानी हुने भन्दै खरबारी, करेसा र कोदो फल्ने बारी मासेर अलैँची रोपेका थिए । कुनै समय प्रतिमन एक लाख २५ हजारमा बिक्री भएको अलैँची अहिले मुस्किलले २३ हजारमा बिक्री गर्न बाध्य हुनुपरेको अगुवा कृषक केवी गुरुङको गुनासो छ ।

यहाँ २०० रोपनी जग्गामा अलैँचीखेती गरिएको छ । अलैँचीखेती गर्दा करीब एक करोड खर्च भए पनि बिक्री नहुँदा लगानी खेर जाने अवस्था रहेको उनले बताए ।

पर्वतमा यस वर्ष २०० मन अलैँची उत्पादन भएको छ । गतिलो मूल्य नपाउँदा कृषकले अलैँची थन्क्याएर राख्न बाध्य भएका छन् । गतिलो मूल्य नपाएपछि घरमै राखिएको भोक्सिङका कृषक नारायण गुरुङले जानकारी दिए । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार ००:००