१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराको अमरसिंहचोकमा ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण




कास्की । पोखरा महानगरपालिका लगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

महानगरको १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालको ५ लाख, रोटरी क्लब अफ मिडटाउनको ४ लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको १ लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

शौचालय निर्माणका लागि २६ लाख ६६ हजार ३४३ खर्च भएको २ लाख ३१ हजार ७५९ अपुग रहेको बताइएको छ । दुई तलाको सो भवनको तल्लो तलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित तथा पर्याप्त मात्रामा पानीको व्यवस्था छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालयमा एक पटकमा तीन÷तीन जना जान मिल्ने रहेको छ । शौचालय वरिपरिको क्षेत्रमा विभिन्न फूल तथा बिरुवाको बगैँचा बनाएर सुन्दरता प्रदान गर्ने योजनासमेत रहेको बताइन्छ ।

पर्यटकीय शहर पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेपनि बजार क्षेत्रमा शौचालय नहुँदा पर्यटकले सास्ती पाएका थिए । महानगरले बजारका अन्य प्रमुख चोकहरुमा समेत शौचालय निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले सङ्घसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएकाले उचित संरक्षण तथा व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००