२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परियोजना थन्किएर बस्ने परिपाटी बन्द हुनुपर्छः मुख्यमन्त्री पौडेल




हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताएका छन् ।

बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा उनले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेकेदार कम्पनीलाई सरकारले पुरस्कारको व्यवस्था गर्ने बताए । उनले २२ वर्षदेखिको सपना पूरा हुने दिशातर्फ अगाडि बढेको जनाउँदै सरकारले आगामी तीन वर्षभित्र कक्षा सञ्चालन गर्ने वातावरण बनाउने उल्लेख गरे ।

प्रदेश ३ मात्र नभएर सिङ्गो राष्ट्रलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशी जनशक्तिले विदेशी जनशक्तिलाई विस्थापित गराउनुपर्ने उनको धारणा थियो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को हेटौँडामा मात्र नभएर प्रत्येक जिल्लामा र हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय आवश्यक पर्ने बताउँदै प्रदेश सरकार त्यसतर्फ अगाडि बढेको धारणा राखे ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मुख्यमन्त्रीले धेरै वर्षअघि देख्नुभएको सपना पूरा गर्न लामो समय कुर्नुपरेको बताए । मन्त्री दुलालले प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्रीको अगुवाइमा प्रदेश ३ सरकार महाविद्यालय निर्माण गर्न लागि परेको र थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए ।

उनले प्राविधिक महाविद्यालयले मकवानपुरको पहिचान नै बदल्ने धारणा राखे । औद्योगिक नगरीको परिचय बनाएको हेटौँडाले शैक्षिक केन्द्रको रूपमा समेत नयाँ परिचय निर्माण गर्दैगरेको अवस्थामा महाविद्यालयले त्यसलाई पूर्णता दिने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । सुषुप्त भइसकेको परियोजनालाई मुख्यमन्त्री पौडेलको पहलमा ब्युँताएर शिलान्यासको अवस्थामा ल्याइएको र अब दुई वर्षपछि उद्घाटनसमेत गरिने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले द्रुतगतिमा विकास हुँदै गएको मकवानपुरमा महाविद्यालय नयाँ फड्को भएको बताए । उनले मकवानपुरले विकासमा एकपछि अर्को फड्को मार्दै गएको बताउँदै योजनाहरु सम्पन्न गराउन स्थानीयवासीहरुको पनि सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

भारत सरकारको अनुदान सहयोगमा भारु ३८ करोड ५३ लाखको लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार ००:००