८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बजेट बाँडफाँट




बेत्रावती । नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गरेका छन् ।

कार्यक्रम निर्देशक समितिको विदुरमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा विनियोजन हुने गरेर ती योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले जानकारी दिए ।

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बजेट विनियोजनमा सडक निर्माण तथा विस्तारलाई प्रथामिकता दिइएको छ । तर्जुमा गरिएको बजेटमा ककनी गाउँपालिकामा पाँच, पञ्चकन्या गाउँपालिकामा तीन र दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान चार–चार योजना समावेश गरिएको छ ।

“अघिल्लो वर्ष चार करोड रहेकोमा यो वर्ष दुई करोड थप भएर प्राप्त भएको छ करोड बजेटअन्तर्गत तोकिएको मापदण्डअनुसार पचास लाखभन्दा ठूला योजना ६ वटा तर्जुमा गरिएको छ”, सांसद तामाङले भने, “सडकलाई प्रमुख प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि ठूलो योजनामा शिक्षा, कृषि, विपद् व्यवस्थापन सहितका नयाँ योजनालाई प्रथामिकता दिइएको छ ।”

ठूलो योजनाअन्तर्गत ५० लाखको योजनामा महाकालीको सिलामेमा रहेको जानकी माविको भौतिक पूर्वाधार निर्माण, गाउँखर्कको माप्ले माविको पर्खाल निर्माण, तादी गाउँपालिकास्थित कोषगाढेको पहिरो नियन्त्रण गर्न, लिखु र पञ्चकन्यामा थालिएको सामूहिक तरकारी खेतीलाई प्रवद्र्धनका लागी कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्टाइएको छ ।

बजेटले निर्वाचन क्षेत्रभित्रका सबै जनताले मागेका योजनाको सम्बोधन गर्न नसके पनि सम्बन्धित स्थानीयतहका सरोकारवाला, स्थानीयतहको गाँउसभामार्फत् प्राथमिकतामा रहेका योजना, कार्यक्रम परामर्श समितिको बैठकलगायतको सुझाव समावेश गरेको सांसद तामाङले बताए ।

पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडा सम्बन्धित स्थानीयतहका सरोकारवाला, सरकारी निकाय, स्थानीयतहले प्रथामिकतामा राखेका योजनाका विवतरण सङ्कलन, स्थानीयतहका प्रमुख–उपप्रमुखलगायतसँग छलफलमार्फत राय एवं सुझाव सङ्कलनको क्रममा रहेका छन् । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००