काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेका छैनन् ।
नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाइने बताइन् । “निर्वाचित हुने पक्का भएको स्थानमा उम्मेदवार छान्न सकस नै हुन्छ”, उनले भनिन् ।
नेकपाका चार जनाले वडाध्यक्षको उम्मेदवारीमा दावी गर्दै आएको अध्यक्ष चौलागाईले बताइन् । हालसम्म नेकपा स्थानीय तह नगर र गाउँ कमिटी गठन नहुँदा जिल्ला कमिटी नेतृत्वले नै वडाध्यक्षको उम्मेदवार छान्न छलफल चलाउँदै आएको हो । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा १६५ वडा छन् ।
तत्कालीन निर्वाचित वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा २०७४ भदौ १० गते मृत्यु भएको थियो । निर्वाचित भएको तीन महिनापछि अर्थात् विंसं २०७४ भदौ ४ गते साँझ घर नजिकै अज्ञात समूहको आक्रमणबाट टाउको र छातीमा गम्भीर चोट लागि अचेत भई लडिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको थियो ।
प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसबाट गत निर्वाचनमा वडाध्यक्षमा पराजित बलराम कोइराला लगायत तीन जनाले वडाध्यक्ष उम्मेदवार आकांक्षी देखाएपछि काङ्ग्रेसको धुलिखेल नपा–२ वडा समितिले क्षेत्रीय समिति हुँदै जिल्ला समितिलाई सिफारिस गरेको छ । “वडाध्यक्षको उम्मेदवारबारे अब जिल्ला कार्य समितिले चयन गर्नेछ”, काङ्ग्रेस ४ नम्बर क्षेत्रीय सभापति महेश खरेलले भने ।
निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारका लागि कात्तिक २७ गते र २९ गते अन्तिम नामावली प्रकाशन तथा आउँदो मङ्सिर १४ गते मतदानको कार्यतालिका तय गरेको छ । रासस
प्रतिक्रिया