शर्मिला पाठक
काठमाडौं । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ ।
पोखरी पुनरनिर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ ।
शुरुको समयमा पुनरनिर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाए पनि काम हुन नसकेपछि पछिल्लो समय पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएको हो । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको काम ६० प्रतिशत सकिएको छ भने पोखरीको बाहिरी भागको काम पनि धमाधम भइरहेको छ ।
हाल मन्दिर वरपर सफाइ र मन्दिर पुनरनिर्माणका लागि आवश्यक पर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनरनिर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनरनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । विसं २०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनरनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र अर्थात नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
पुनरनिर्माणको काम पूर्णरूपमा हुन नसक्दा यस वर्षको तिहारमा पनि सर्वसाधारणले मन्दिरभित्र नै गएर बालगोपालेश्वरको दर्शन गर्न नपाउँदा बाहिर नै मूर्ति राखेर दर्शनको व्यवस्था गरिएको थियो । रासस
प्रतिक्रिया