१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन




जाजरकोट । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो ।

जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका १ स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषौदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताए ।

उनले भने, “स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले सङ्घीय सरकारमा कुरा पु¥याएका छौँ, यो आर्थिक वर्षमा केही समस्या समाधान होला कि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले डिप बोरिङबाट पानी ल्याउनका लागि पहल गर्ने भन्नुभएको छ ।” गाउँ नजिकै खानेपानीको मुहान नहुँदा आफूहरू भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीयवासी दुर्गा आचार्यले बताए ।

हिउँद याममा भेरी नदीको पानी सफा भए पनि वर्षायाममा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न मुस्किल परेको गुनासो गर्दै स्थानीयवासी रामबहादुर सिंहले भने, “यही बाटो भएर जाजरकोट र डोल्पा, रुकुम पश्चिमका अधिकांश नेतादेखि सङ्घ, संस्थाका व्यक्ति हिँड्छन्, उनीहरू पानी सफा भएन भनेर कराउँछन् तर पानी ल्याउने कुरामा कसैले पनि पहल गर्दैनन् ।”

छेडाबजारबाट जुम्ला डोल्पा र पश्चिम रुकुम हुँदै मध्यपहाडी लोकमार्गसम्मका सडक जोडिन्छन् । जाजरकोटबाट भित्रने र बाहिरिने मुख्य सडक नै यही बाटो भएर जान्छ तर खानेपानीको अभाव भएकाले माथिल्लो छेडाका बासिन्दा बसाइँ सरेर अर्को ठाउँमा जान बाध्य भएको उनले बताए ।

माथिल्लो छेडामा थोपा सिँचाइबाट आकाशको पानी जम्मा गरेर प्रयोग गर्न ट्याङ्की निर्माणका लागि शुरुका दिनमा केही काम गरिएको थियो तर त्यो पनि अहिले पूरै काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडाबजारमा खानेपानीका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहल जारी रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । सुर्खेत र जाजरकोटका बीचमा रहेको यस ठाउँमा स्थानीयवासीको विवादका कारण समस्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको उक्त गाउँपालिकाका बीचमा पर्ने भएकाले दुवै गाउँपालिकाले सो ठाउँ आफ्नो भएको दाबी गदै आएका छन् ।

अहिलेसम्म निर्माण भएका संरचना सबै जाजरकोटले निर्माण गदै आएको थियो । खानेपानीको समस्या भएको थाहा पाउने वित्तिकै खानेपानी कार्यालयलाई तत्काल सम्बोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । उनका अनुसार यो आर्थिक वर्षमा जसरी पनि त्यहाँ पानी पु¥याइने छ । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार ००:००