रुकुमपूर्व । विगत छ महीनादेखि अवरुद्ध सोलाबाङ धाउने बालुवा सडकखण्ड आजबाट सञ्चालन भएको छ । वर्षा शुरु भएसँगै अवरुद्ध भएको उक्त सडकखण्डको कौछेमा झरेको पहिरो हटाएसँगै तिहारको मुखैमा आजबाट यातायात सेवा पुनः सञ्चालन गरिएको हो ।
एमडी गु्रप कम्पनीको डोजर लगाएर वर्षाका कारण सडकमा खसेको पहिरो हटाउनुका साथै बाटोमा रहेका खाल्डाखुल्डी पुरिएको छ । हरेक वर्षको वर्षा शुरु हुनेबित्तिकै सिस्ने गाउँपालिका वडा नं ७ को कौछेमा निरन्तररूपमा झरिरहेने पहिरो झर्न रोकिएपछि मर्मतको काम शुरु गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।
लगातार चार दिन लगाएर सोलाबाङ–धाउने–बालुवा सडकखण्डको आठ किलोमिटर सडक मर्मत गरिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बूढाले जानकारी दिए । बाटो सञ्चालन भएसँगै छ महीनायता सुनसान भएको सडकमा आजबाट यातायातका साधन गुड्न थालेको उपाध्यक्ष बूढाको भनाइ छ । उक्त सडकखण्डमा यातायात सेवा सञ्चालन भएसँगै यात्रुलाई पनि सहज हुने उनको भनाइ छ ।
बाटो मर्मत भएसँगै सिस्ने गाउँपालिकाको वडा नं ७ र ८ मा सजिलै पुग्न सकिने भएको छ । त्यसैगरी उक्त सडकखण्ड हुँदै रुकुम पश्चिम, सल्यान, दाङलगायतका जिल्लामा पुग्न सहज हुने स्थानीयवासीले बताएका छन् । रासस
प्रतिक्रिया