८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद कोषको बजेट सडक, शिक्षा र सिँचाइमा खर्च गरिने



गङ्गराज पण्डित

बाजुरा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको छ करोड बजेट सडक, शिक्षा र सिँचाइमा खर्च गरिने भएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्यको नेतृत्वमा खर्च हुने बजेटमध्ये दुई करोड ३० लाख सडक निर्माणमै छुट्याइएको छ । ५० लाख बराबरका ठूला छ योजनामध्ये चार योजना सडक नै परेका छन् ।

जसमा गौमुल गाउँपालिकाअन्तर्गत घटमुना मानाकोट सडक, जगन्नाथ गाउँपालिकाअन्र्तगत महनकोट हुँदै थारिकाँडा सडक, स्वामिकात्तिक गाउँपालिकाअन्तर्गत सुइजिउँला साप्पाटा र बर्कु अस्पतालदेखि कार्कीवाडा मुक्तिकोट सडक निर्माणमा ५० ५० लाख बजेट विनियोजन गरिएको छ । स्वामिकात्तिक गाउँपालिकामा यो वर्ष दुई ठूला योजनामा एक करोड गएको छ ।

यस्तै बूढीगङ्गा नगरपालिका २ र ३ मा बाटो, चौपाडी तथा गेट निर्माणका लागि ५० लाख छुट्याइएको छ भने गौमुल गाउँपालिका–२ को जनज्योति माविको भवन निर्माणका लागि पनि ५० लाख बजेट विनियोजन गरेको छ । गौमुल गाउँपालिकामा विद्यालय भवन, सडक र महादेव आधारभूत विद्यालयको भवनका लागि थप २० लाख गरी एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

नौ स्थानीय तहमध्ये गौमुलमा सबैभन्दा बढी बजेट गएको छ । यस्तै खप्तड छेडेदह गाउँपालिमा ५० लाख बजेट गएको छ । घटाल आधारभूत विद्यालय डोगडीमा घेरबारका लागि १० लाख, दाब्रेतोलादेखि पिपलगाउँ जय बागेश्वरीसम्मको सडक २० लाख, सिमपाटी सिँचाइ आयोजना दानीगाउँ १० लाख र मेलमुडा खानेपानी गुदुखातीका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै त्रिवेणी नगरपालिका–१ स्थित लोवाढुङ्गा भुगातोला खानेपानी १० लाख, ६ नं वडा पिपलतोला भाडवाडा खानेपानी १० लाख र धल्पुरी मावितोलीमा १० लाख २५ हजार बजेट विनियोजन गरिएको छ । जगगन्नाथ गाउँपालिकामा ५० लाख सडकबाहेक तल्लो हुनी सिँचाइ कुलो १० लाख, नवजीवन कृषि उपज तथा सङ्कलन केन्द्र गोत्री १० लाख र खोचीघाट भुका सिँचाइ कुलो २० लाख बजेट विनियोजन गरिएको छ ।

बडिमालिका नगरपालिकाअन्तर्गत त्रिभुवन आधारभूत विद्यालय नुवाकोटमा १० लाख, मनागाड विद्युत्नहर निर्माण १० लाख, वीरेखोला सिँचाइ आयोजना निर्माण १० लाख र गडखेत दैयारा सिँचाइ निर्माण १० लाख बजेट विनियोजन गरिएको छ । बूढीगङ्गा नगरपालिकामा ज्येष्ठ नागरिक योग केन्द्र भवन निर्माण १० लाख, सिँगाडा मावि घेरबार १० लाख, धुरालसैन मावि भवन निर्माण १० लाख र बार्जुगाड विद्युत् आयोजना निर्माण १० लाख बजेट विजियोजन गरिएको छ ।

बूढीनन्दा नगरपालिका माटीखान बयालपाटा तटबन्ध १० लाख, स्यालकाँटिया गाउँ पहिरो तटबन्ध १० लाख र खुल्मीगाड विद्युत् नहर निर्माण कोटिला १० लाख बजेट विनियोजन गरिएको छ । हिमाली गाउँपालिका बिच्छ्या मावि फिल्ड र घेरबार निर्माण १० लाख, मदन–आश्रित सामुदायिक भवन निर्माण १० लाख र लेख बिच्छ्यादेखि उहिनेडीसम्म घोडेटो बाटो निर्माण १० लाख बजेट विनियोजन गरिएको छ । नौ स्थानीय तहमध्ये हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकामा सबैभन्दा कम ३० ३० लाख बजेट मात्र विनियोजन गरिएको छ भने १० लाख बजेट जिल्ला अस्पतालमा ब्लडबैंक स्थापनाका लागि विनियोजन गरिएको छ ।

३२ योजनामा रु छ करोड बजेट विनियोजन गरिएको छ । त्यो मध्ये सात लाख ७५ हजार जिल्ला समन्वय समिति प्रशासनिक खर्च छुट्याइएको छ । सडक सञ्जाल विस्तार, शिक्षाको गुणस्तरका लागि संरचना निर्माण र उत्पादनका लागि सिँचाइ आवश्यक ठानेर नै प्राथमिकतामा राखिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले बताए । सङ्घीय सभामा एक निर्वाचन क्षेत्र रहेको बाजुरामा थापा संयोजक रहेको निर्देशक समितिबाट बजेट विनियोजन गरिएको हो ।

थापासहित नेपाली काङ्ग्रेसबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने बद्री पाण्डे सदस्य र समन्वय अधिकारी तीर्थराज भट्टाराई सदस्यसचिवसहितको समितिले बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताए । छ करोडमध्ये एक करोड ३० लाख रकम बद्री पाण्डेले आफ्नो प्राथमिकतामा विनियोजन गर्नुभएको हो भने बाँकी प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले आफ्नो प्राथमिकतामा विनियोजन गरेका छन् ।

बजेट सहमतिका आधारमा विनियोजन गरिएको प्रतिनिधिसभा सदस्यका जिल्ला प्रतिनिधि तुलसीराम रोकायाले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार ००:००