पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जिप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ ।
चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । चाडपर्वमा अन्य समयभन्दा यात्रुको सङ्ख्या दोब्बरभन्दा बढी हुने गरेका कारणसमेत सवारीसाधनको अभाव हुने गरेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमबाट झापासम्म दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्दछन् ।
यहाँका ग्रामीण क्षेत्रबाट समेत तराईका विभिन्न जिल्लामा सवारीसाधन सञ्चालन हुन्छन् । झण्डै ९९ प्रतिशत साना सवारीसाधन चल्ने गरेकाले चाडपर्वमा यात्रुलाई हैरानी हुन्छ ।
हिमाल यातायात प्रालिका कर्मचारी निशान लिम्बूका अनुसार दशैँ र तिहारमा यात्रुको सङ्ख्या थेग्नै नसक्ने हुन्छ । यही समय देश विदेशबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पाथीभरा मन्दिर दर्शन गर्न आउँछन् ।
कतिपय आफैँ सवारीसाधन लिएर आउँछन् । अधिकांशले मेची राजमार्गमा सञ्चालन हुने सवारीसाधन नै प्रयोग गर्छन् । “सवारीसाधन अभावले यात्रु समयमै गन्तव्यमा पुग्न सक्दैनन्,” लिम्बूले भने ।
सवारीसाधन सीमित तथा यात्रुको सङ्ख्या अत्यधिक हुँदा समस्या हुने गरेको छ । पहिले झापाको विर्तामोड र दमक तथा सुनसरीको धरानबाट इलाम, फिदिम र ताप्लेजुङसम्म बस सञ्चालन हुने गरेको थियो ।
साँघुरो तथा धेरै घुम्ती भएका कारण मेची राजमार्गमा यात्रुले बसको सट्टा साना सवारीसाधन प्रयोग गर्न रुचाउने गरेका छन् । रासस
प्रतिक्रिया