३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक वनमा चियाखेती



म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा गरिएको चियाखेती सफल भएको छ ।

यस वर्षदेखि समुदायले उत्पादन लिने तयारी गरेका छन् । सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीनमध्ये ४ रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले बताए ।

समुद्रीक सतहदेखि २ हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा ७ वर्षअघि गोल्डेन जातको चियाका ५ हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वगान बनेको छ ।

“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिन सफल भएका छन्,” गुरुङले भने, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा चियाका बिरुवाहरु थप्ने योजनामा छौँ ।”

गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्ला लगायतका काठ तथा विभिन्न किसिमका जडिबुटी तथा जङ्गली जनावर र पंक्षी देख्न सकिन्छ ।

“चिया खेतीलाई प्रवद्र्धन गरी व्यावसायिक खेती शुरु गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ,’’ स्थानीय परमेश्वर मल्लले भने । रासस

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार ००:००