१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्दिरको प्रसादमा समेत विभेद



शिवालय गाउँपालिका–५ का गोपाल परियारको उमेर अहिले ४५ बर्ष पुग्यो । अझै पनि मन्दिरदेखि काम गर्ने थलोसम्म जातीय विभेद कायमै रहेको उनको भोगाई छ ।

शिवालय गाउँपालिकाले आयोजना गाउँपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवार्इमा उनले पीडा पोखे, “ “दिनभरी काम लगाइन्छ, नास्ता र खाना खाँदा कथित माथिल्लो जातिका मानिसहरु दही, मही र घ्यू खान्छन् । हामीलाई भने देवता रिसाउँछ भन्दै तरकारी मात्र दिन्छन् ।”

शिवालय गाउँपालिका–५ र ६ का मन्दिर र देवताका थानमा समेत विभेद हुने गरेको गोपालले आरोप लगाउँदै भने, “माथिल्लो जाति भनिनेहररू मन्दिरमा पकाएका रोटीसँग दूध र खिर खान्छन्, हामीलाई देवता रिसाउँछन् भन्दै तेलमा पकाएका रोटी मात्र दिन्छन् । यो कस्तो अचम्म हो ? देवताले पनि मान्छे छुट्याउँछन् र ?”

उनको जस्तै पीडा हरिबहादुर परियारको पनि छ । उनी भन्छन्, “हामीले बनाएको घर, मन्दिर प्रयोग गर्न मिल्ने, तर त्यहाँ पकाएका खानेकुरा खान नहुने यो कस्तो अन्याय हो ?” मन्दिरमा पूजाआजा समेत राम्ररी गर्न नपाएको उनको दुखेसो छ ।

जनयुद्धताका जातीय छुवाछूत तथा भेदभाव केही कम भए पनि अहिले फेरी पुरानै ठाउँमा पुगेको उनको ठम्याई छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जातीय भेदभाव र छुवाछूत जस्तो अमानवीय क्रियाकलाप कुनै हालतमा सैह्य नहुने बताए ।

“यस्ता विभेदहरू हेरेर बस्न सक्दैनौं । यो हाम्रो साझा एजेण्डा हो । यस्ता विभेद अन्त्य गर्ने अभियानमा गाउँपालिका पहल गर्नेछ,” उनले भने ।

जिल्लाका अन्य ठाउँमा पनि जातीय विभेद तथा छुवाछूत कायम रहेको भन्दै यो कुसंस्कारलाई तोड्न नयाँ पुस्ता सक्रिय हुनुपर्ने सरोकारवालाको जोड छ ।

नेपालको संविधानले जातीय विभेद अन्य गरेको भएपनि व्यावहारमा भने कुनै परिवर्तन नआएको यहाँका दलित समुदायको दुखेसो छ ।

दलित समुदाय हुने वित्तिकै दही, मही र घ्यू खाना नपाउने र मन्दिरमा समेत विभेद गर्ने भन्ने कुरा जिल्लाका सबै ठाउँमा रहेकाले यसलाई हटाउन सबैले साथ दिनुपर्ने सहभागीले बताएका छन् ।

“समाज बदल्न आफूबाट सुरू गरौँ, जसका कारण अर्काले पनि राम्रो कामको अनुसरण गरोस्”, नेपाल पत्रकार महासङघ, जाजरकोटका सल्लाहकार जनक केसीले भने, “सुरूमा सोच बदलौं । दलित समुदाय भित्रको विभेदलाई समेत अन्त्य गर्न जरुरी छ । अहिलेको समयमा पनि यस्तो विभेद हुनु दुर्भाग्यपूर्ण कुरा हो ।”

शनिबार नै शिवालय गाउँपालिकाले जातीय विभेद र भेदभावसम्बन्धी आठ बुँदे घोषणा पत्रसमेत जारी गरेको छ ।

यसरी यस्ता कार्यक्रम जिल्ला अन्य स्थानीय तहका समेत गर्न सके जातीय भदभाव र छुवाछूत न्यूनीकरणमा सघाउ पुग्ने स्थानीयवासीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव र छुवाछूतसम्बन्धीका उजुरी निकै कम आउने गरेको पाइएको छ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार ००:००