७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धवलागिरि गाउँपालिकाः मराङमा सडक पुग्यो



म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्रीप्रसाद गर्बुजाले बताए ।

“दरवाङदेखि खच्चर र भरियामार्फत प्रतिकिलो दश ढुवानी भाडा लाग्दथ्यो”, गर्बुजाले भने, “यातायातका साधन सञ्चालन हुन थालेपछि प्रतिकिलो दुईमा ढुवानी हुन थालेको छ ।” दैनिक चार बस र दश वटा जीप चल्ने बेनी–मराङ सडकमा प्रतियात्रु ४४० र दरवाङ–मराङलाई २२० भाडा तोकिएको छ ।

सात वर्षअघि मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङदेखि मराङ जोड्ने सडक निर्माण शुरु भएको थियो । मराङ खोलाको किनारै किनार बेँसी गाउँसम्म जोडिएको सडक अन्य बस्तीमा पनि विस्तार भएको छ । लुरवाङदेखि अर्गला बेँसी हुँदै मराङको कुम्रीस्थित स्वास्थ्य चौकीसम्म नौ किलोमिटर र बेँसीदेखि आरवाङ हुँदै मल्कवाङको कान्चेसम्म आठ किलोमिटर सडकको ट्र्याक खुलेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

“मराङ, मल्कवाङ, खिवाङ र रघुगङ्गा गाउँपालिकाको कुइनेका करीब तीन हजार घरधुरी लाभान्वित भएका छन”, उनले भने, “पहाडमा करीब दश मिटर ट्याक खोल्न बाँकी भए पनि दुई ठाउँमा डाइभर्शन बनाएर सवारी सञ्चालन गरिएको हो ।” तत्कालीन जिविस, बिम र मराङ गाविस, सांसद विकास कोष, धवलागिरि गाउँपालिका र पूर्वाधार विकास कार्यालय, प्रवासी, स्थानीयवासी, वन समूह, आमा समूह र व्यक्तिहरुको छ करोड ४६ लाख ५१ हजार ५६० लगानी भएको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष अमर पुनले बताए ।

कान्चेभिर पुगेको सडकलाई विस्तार गरेर मल्कवाङ हुँदै पाखापानी र कुम्रीमा पुगेको सडकलाई ठूलोगाउँ, राम्चे, बुल, मलम्पार, मल्कवाङ जोडेर चक्रपथ बनाइने प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए । पूर्वाधार विकास कार्यालयले अर्गाला–र्बेसी खण्डका भिरमा बाँकी ट्र्याक खोल्न र मल्कवाङमा जोड्न यस वर्ष डेढ करोड विनियोजन गरेको छ । कुम्रीदेखि ठूलोगाउँ, राम्चे, बुल मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले २५ लाख छुट्याएको अध्यक्ष थमसरा पुनले बताए ।

“प्रदेश सरकारमार्फत अर्गलास्थित मराङ खोलामा मोटरेबल पुल निर्माण हुन लागेको छ”, अध्यक्ष पुनले भने, “अर्गाला र बेँसीको बीचमा रहेको भिरमा यस वर्ष ट्र्याक खुलेर नियमित गाडी चल्ने बनाउँछौँ ।” सात वटा वडा रहेको धवलागिरि गाउँपालिकाको मराङ, ताकम र मुनामा मात्र सडक पुगेको छ । यस वर्ष लुलाङ, मुदी र मल्कवाङमा सडक पु¥याउने लक्ष्य छ । गुर्जामा आन्तरिक सडक निर्माण गरेर यातायात सञ्चालन गर्न लागिएको छ । रासस

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार ००:००