८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीपुरमा आधुनिक बसपार्क निर्माण



नारायणी रजौरे

दाङ । चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हुँदै गएको छ ।

यात्रुलाई सजह तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुँदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।

आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

विसं २०७४ वैशाख महीनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए । भ्याट बाहेक नौ करोड नौ लाखको लागतमा सम्झौता अनुसारको निर्माणको पहिलोचरणको काम पूरा भएको इञ्जिनीयर योगीले बताए । बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौंले पाएको थियो ।

निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादका कारण काम अवरुद्ध भएको थियो । जनप्रतिनीधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीयवासीबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इञ्जिनीयर योगीले जानकारी दिए ।

अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका–६ रजौराको कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघाहा क्षेत्रफल जग्गामा फैलिएको छ ।

त्यहाँ तीन सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता रहेको छ । त्यहाँ यात्रु प्रतिक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिए । उनका अनुसार बसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका संरचना निर्माण गरिएको छ । सो बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ ।

बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका व्यवसायी मीनराज भण्डारीले बताए । “बसपार्क छेउमा आफूले लामो समयदेखि किराना पसल गर्दै आएको र धुलो, अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नु परेको थियो, अब भने सजह हुने भयो”, भण्डारीले भने ।

तुलसीपुर–५ की शारदा वलीले बसपार्क निर्माणका कारण आफू पनि खुशी रहेको बताइन् । उनले भनिन्, “भौतिक पूर्वाधारसहितको सुविधायुक्त बर्सपार्क नहुँदा नागरिकले निकै सास्ती खेप्नु परेको र बस गाडी पार्किङ गर्दा पनि रातको समयमा यात्रुलाई असजिलो हुन्थ्यो, अब सबै समस्याको अन्त्य हुने भयो ।”

तुलसीपुर काठमाडौं बस चालकको काम गदै आएका केशव भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताए । उनले टाढाको दुरीबाट गाडी चलाएर आउनुपर्ने, गार्डी पार्किङको लागि साहुको घर खोज्नुपर्ने बाध्यता अब हटने धारणा व्यक्त गरे । संरचना बनाएपछि यात्रुलाई पनि सहज हुने उनको भनाइ थियो ।

त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले बसपार्क निर्माणले अब जथाभावि रुपमा गाडी राख्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

तुलसीपुर उपमहापालिकाका उपप्रमुख माया आचार्यले बसपार्क निर्माणले नागरिकलाई सहज, तथा सुरक्षित यात्रा गराउन सजिलो भएको बताइन् । उनले भनिन्, “यसले तुलसीपुर बजारलाई स्मार्टसिटिको रुपमा विकास गर्ने र नगरको सुन्दता बढाउन, नागरिकलाई सुविधा प्रदान गर्न सहयोग हुने छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार ००:००