५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सराङ्कोटमा एक घर एक धारा




कास्की । खानेपानीको अभाव झेल्दै आएको पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो ।

सूर्योदय, हिमशृङ्खला लगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर घनावस्तीले पिउने पानीको अभाव हुँदा पर्यटकलाईसमेत असुविधा भएको अवस्थामा समस्या समाधानका लागि गत वर्ष तीन योजना शुरु गरिएको थियो । त्यसमध्ये एक सम्पन्न भएको र बाँकी दुई यसै वर्षभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन्छ ।

प्रदेश सरकारको एक करोडको लागतमा स्याउदे लिफ्टिङ योजना सम्पन्न भएर ९२ घरधुरीमा गत साउनदेखि धारामा पानी आउन शुरु भएको र तोरीपानी बोरिङ योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष रणबहादुर थापाले बताए ।

तोरीपानीका लागि प्रदेश सरकारले दुई करोड लगानी गरेको बताइन्छ । यस योजना सम्पन्न भएपछि १९२ धरधुरी लाभान्वित हुनेछन् ।

त्यसैगरि सराङकोटको सबैभन्दा ठूलो बूढीमूल लिफ्टिङ खानेपानी योजनाको हालसम्म ८० प्रतिशत काम सम्पन भएको र योजना सकिएपछि ४०० घरधुरीमा धारा पुग्ने बताइएको छ ।

पानीको स्रोत रहेको बूढीमूलको मुहानबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर एक हजार ७०० मिटर उचाइको सराङकोट चुचुरोमा रिजर्भ वायर ट्याङ्की र वितरण च्याम्बरमार्फत घरघरमा पिउने पानी पु¥याउने रहेको सो खानेपानी योजनाका अध्यक्ष पुष्कलबहादुर थापाले बताए ।

चारवटा लिफ्टिङ मेसिनको प्रयोगबाट मुहान नजिक ५० हजार लिटर क्षमताको रिजर्भ वायर ट्याङ्की निर्माण गरिएको छ । त्यसैगरी चुचुरोमा ५० हजार लिटर क्षमताका तीन वटा रिजर्भ वायर ट्याङ्की र एउटा वितरण ट्याङ्की निर्माण सम्पन्न भएको छ । घर घरमा पानी वितरणका लागि दुई वटा ३० हजार लिटर क्षमता वितरण ट्याङकी निर्माण गर्न बाँकी रहेको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताए ।

उनले हालसम्म २५० घरमा धारा जडान गरिसकिएको बताउँदै यसै वर्षभित्रमा योजनाले समेट्ने सबै घरमा धारा जडान गरेर पानी वितरण गर्ने योजना रहेको जानकारी दिए । बूढीमूल खानेपानी योजनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ९९ लाख ७० हजार तथा चालू वर्षमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी महानगरले गत वर्ष १७ लाख बजेट विनियोजन गरेको थियो । प्रदेश सरकार स्थापनापछि खानेपानी योजनामार्फत सराङकोटले लाभ लिएको बताउँदै वडाध्यक्ष थापाले भने, “प्रदेश सरकार यहाँका जनताका लागि बरदान सावित भएको छ । सरकार स्थापनाको पहिलो वर्षमानै यहाँका सांसद रामजी बरालमार्फत तीन वटा योजना पेश गरिएकोमा सबै योजना बजेटमा परेर यसैवर्ष काम सम्पन्न हुने चरणमा छ ।” रासस

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार ००:००