१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न




पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो ।

खानेपानीको मूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो । निर्माण सम्पन्न योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गरे । उनले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पु¥याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता जनाए ।

आयोजना सम्पन्न भएपछि दुई वडाका १९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरमा सामुदायिक धारासमेत बनेका छन् । विसं २०४२÷०४३ मा नै खानेपानी योजनाको सर्वेक्षण भए पनि निर्माण हुननसकेको तर विसं २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताए । “मुख्य पाइपलाइन, ट्याङ्की निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पूरा भए पनि त्यसै छाडिएको थियो ।” उनले भने, “सबै क्षेत्रको अथक प्रयासबाट तीन दशकअघिदेखिको सपना बल्ल पूरा गर्न सकेका छौँ ।”

खानेपानी योजना एक करोड ४३ लाखको लागतमा सम्पन्न भएको छ । त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी ५० लाखभन्दा बढी खर्च गरेका छन् । खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुविधा पु¥याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुँवर बताए ।

स्वास्थ्य शिविरमा पाँच सयको उपचार

पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, विद्यालयको स्वर्ण महोत्सव मूल आयोजक समिति र पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा फिस्टेल हस्पिटल पोखराका विशेषज्ञ चिकित्सक तथा इडित क्राउन युनिभर्सिटी अष्ट्रेलियाका नर्सहरुले बिरामीलाई स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरेका थिए ।

सो अवसरमा स्त्री तथा प्रसूति, हाड जोर्नी तथा नसा, बालरोग र सामान्य चिकित्सासम्बन्धी क्षेत्रका विशेषज्ञ चिकित्सकद्वारा ४८८ को स्वास्थ्य परीक्षण गरिएको थियो । इसिजी, भिडियो एक्सरेसहितको निःशुल्क स्वस्थ्य जाँच र औषधि पाएपछि लामो समयदेखि उपचार गर्न नसकेका स्थानीयवासी लाभान्वित बनेका छन् ।

उक्त अवसरमा विद्यालयका १०० छात्रालाई सेनिटरी प्याड, १० विपन्न बालबालिकालाई जनही पाँच हजारका दरले छात्रवृत्ति, विद्यालयलाई खेलकूद सामग्री, शैक्षिक सामग्री, प्राथमिक उपचार सामग्री, पुस्तक, पानी छान्ने र तातोचिसो पानी पिउने फिल्टरलगायतको करीब दुई लाख बराबरको सामग्री वितरणसमेत गरिएको थियो । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००