५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुक्त हलिया बस्तीमा बोरिङमार्फत खानेपानी




कञ्चनपुर । भीमदत्तनगरपालिका–१ स्थित बाराकुण्डामा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारलाई टाढाबाट खानेपानी बाकेर ल्याउनुपर्ने झन्झट सकिएको छ ।

दातृ निकायको सहयोगमा गरिएको बोरिङका कारण अहिले उनीहरूलाई खानेपानीका लागि अन्यत्र भौतारिँदै हिँडनुपर्ने बाध्यता अन्त्य भएको हो । क वर्गको परिचयपत्र पाएका ३५ परिवार मुक्त हलियालाई बाराकुण्डामा पुनःस्थापन गरिएको थियो ।

ती परिवारले घर निर्माण गर्न र खानेपानीको अभाव हुन नदिन टाढाबाट पानी किनेर बोकेर ल्याई प्लाष्टिकको खाल्डोमा जम्मा गरेर राख्ने गर्दै आएका थिए ।

बोरिङका लागि राष्ट्रिय हलिया मुक्ति समाज तथा ह्याविटाट नेपालको साझेदारीमा सञ्चालित हलिया आवास परियोजनाअन्तर्गत तीन लाख र भीमदत्त नगरपालिकाबाट दुई लाख गरी पाँच लाख उपलब्ध गराइएको थियो ।

बोरिङ गरिएपछि एक किलोमिटर टाढाबाट पानी किनेर पिउनुपर्ने बाध्यता अन्त्य भएको छ । मनि दमाइले भने, “किनेको पानी बाल्टिन वा जर्किनमा बोकेर घर ल्याउने गरेका थियौँ । बस्तीमै खानेपानीको व्यवस्था भएपछि सहजरूपमा पानी पिउन पाएका छौँ । मजदुरी गरेर ल्याइएको आधा बढी रकम पानी किन्नमै खर्च हुन्थ्यो, अहिले त्यो सबै जोगिएको छ ।”

विगतमा खानेपानीकै लागि एक परिवारले दैनिक १०० देखि ३०० सम्म खर्च गर्दै आएका थिए । बस्ती बसाइएको ठाउँमा सानो रकमले नल्का गाड्न सकिँदैथ्यो हरि दमाईले भने, “एक लाखभन्दा बढी रकम नल्का गाड्नकै लागि लाग्थ्यो । त्यो हामी कसैसँग नभएकाले पानी किन्नुपर्ने बाध्यता थियो ।”

नगरपालिका र दातृ निकायसँग बोरिङका लागि माग गरिएकाले बल्ल खानेपानीको व्यवस्था भएको मुक्त हलिया परिवारको भनाइ छ । यसैगरी उक्त परियोजना र नगरपालिकाको सहयोगमा वडा नं १९स्थित बाँगफाँटामा पुनःस्थापित मुक्त हलिया बस्तीमा समेत पाँच लाखकै लागतमा खानेपानीका लागि बोरिङ गरिएको र यसबाट ३२ परिवार लाभान्वित भएका राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका जिल्लाअध्यक्ष शिवी लुहारले बताए । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार ००:००