२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग



बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।

सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन ।

तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्नेगरी काम सुरू गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार ३ महीनाभित्र बोलपत्र आह्वान गर्ने भइरहेको छ ।

३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजनाको लागत १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेल तथा अरू मन्त्रीहरू समेत सुरुङमार्ग निर्माणको पक्षमा छन् ।

प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

प्रदेश नं ३ को राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको पौडेलले बताए ।

समग्र नेपालको विकासका लागी कोसेढुङ्गा सावित हुने भएकाले प्रदेश सरकार आफैँले सुरुङमार्गको योजना अगाडि बढाएको पौडेल बताउँछन् ।

पौडेलका अनुसार सुरुङमार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ । हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौँलाई फराकिलो बनाइने योजना छ ।

सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको झञ्झटिलो र घण्टौँको यात्रा समय घटेर १ घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा समय र आर्थिक बचत गराउनेछ ।

सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाई छ ।

प्रदेश नं ३ सरकारको परियोजनामध्य सबैभन्दा महत्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब तीन महीनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले बताए ।

भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु¥याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना छ । रासस

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार ००:००