७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडी नगरपालिकाको उदाहरणीय सहयोग




चितवन । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षाका लागि माडी नगरपालिकाले सहयोग शुरु गरेको छ । स्कुलमा अध्ययन गर्दै गरेका सन्तानलाई माडी नगरपालिकाले पाँच लाख उनीहरुको खातामा जम्मा गर्न शुरु गरेको हो ।

नगरपालिकाले उनीहरुलाई उच्च शिक्षाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गत वर्षबाट यो अभियान थालेको हो । माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनले घेरिएको छ । वन्यजन्तुको सबैभन्दा बढी आक्रमण माडीवासीलाई हुने गर्दछ । मानवसँगै घरगोठ र लगाइएका बाली पनि वन्यजन्तुले क्षति पु¥याउँदै आएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार बाबु आमामध्ये कसैको वन्यजन्तुको आक्रमणबाट निधन भएमा र उनीहरुका सन्तान कक्षा १२ सम्म कुनै पनि कक्षामा अध्ययनरत रहेको अवस्थामा उनीहरुकै खातामा रकम जम्मा गरिनेछ । त्यस्ता सन्तान एक वा बढी जे जति भए पनि सो रकम विभाजन गरेर उनीहरुको खातामा जम्मा गरिदिने ढकालले बताए ।

सो रकमको ब्याज वा मूलधनबाट उनीहरुले उच्च शिक्षा सहजरुपमा आर्जन गरुन् भन्ने उद्देश्यले नगरपालिकाले यस कार्यको थालनी गरेको ढकालको भनाइ छ । गत वर्ष वन्यजन्तुको आक्रमणबाट मारिएका एक व्यक्तिका सन्तानलाई सो रकम नगरपालिकाले जम्मा गरिदिएको उनले जानकारी दिए ।

यससँगै बालीको बीमामा ९० प्रतिशत नगरपालिकाले बेहोर्दै आएको छ । वन्यजन्तुका कारण हुने जनधनको क्षतिपूर्तिबापत निकुञ्जले रकमसमेत उपलब्ध गराउँदै आएको छ । बालीमा पुगेको क्षतिको निकुञ्जले दिने रकम बराबर नगरपालिकाले थप गर्नसमेत शुरु गरेको जनाएको छ ।

वन्यजन्तुका कारण मानिसको मृत्यु भएमा निकुञ्जले १० लाख उपलब्ध गराउने गर्दछ । घाइतेको उपचार निकुञ्जले गर्दछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति कम गर्दै क्षति भइहालेमा राहत रकम दिलाउने काममा निकुञ्जसँगै नगरपालिकाले सहकार्य गरेर काम गरिरहेको बताए ।

पछिल्लो समय नगरपालिकाले शुरु गरेका गतिविधिका कारण निकुञ्ज र जनताको बीचको द्वन्द्व कम हुँदै जाने रुपाखेतीको विश्वास छ । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ००:००