५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुमकोट पातीहाल्ना सडकखण्ड चार महीनापछि पुनःसञ्चालन




रुकुमपूर्व । मध्यपहाडी लोकमार्गको रुकुमकोट पातीहाल्ना सडकखण्ड चार महीनापछि पुन सञ्चालन भएको छ । वर्षा शुरु भएसँगै गत असार महीनाबाट अवरुद्ध भएको उक्त सडकखण्डको धौलापहिरास्थित लुकुमगाड खोलामा कज्वये निर्माण भएपछि बाटो खुलेको हो ।

वर्षा सकिएसँगै पानीको बहाव बढ्न छोडेपछि खोलामा हिमपाइप हालेर कज्वये निर्माण गरिएको छ । लगातार चार दिनको प्रयासले खोलामा कज्वये निर्माण गरी बाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । कज्वये निर्माणको लागि जिल्लामा ठेक्काको काम गरिरहेका सिद्धीसाही कन्स्ट्रक्सन, चन्द्र एण्ड वसन्त कन्स्ट्रक्सन, कालीका कन्स्ट्रक्सन तथा राप्ती हाइड्रोपावरको सहयोगमा बाटो खुलाउन सम्भव भएको उनले बताए ।

प्रजिअ अर्यालका अनुसार तीनवटा कन्स्ट्रक्सनले चारचार वटा हिमपाइप उपलब्ध गराएका थिए । १२ वटा हिमपाइप राखेर लुकुमगाड खोलामा अस्थायीरुपमा कज्वये निर्माण गरेपछि यातायातका साधन खोला पारपार भएका छन् । चार महीनादेखि अवरुद्ध भएको सडकखण्डमा कज्वये निर्माण गरी बाटो खुलाएपछि स्थानीय नागरिक खुशी भएका छन् । रुकुमकोटबाट घरसम्म पुग्दा दुई तीन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने र कतै हिँड्नुपर्ने बाध्यता अब टरेको भन्दै पुथा उत्तरगङ्गा गाउँपालिका–१ हुकामकी अन्जना बुढामगरले खुशी व्यक्त गरे ।

उक्त सडकखण्डमा यातायातका साधन सुचारु भएसँगै भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका नागरिक सजिलै सदरमुकाम रुकुमकोटसँग जोडिएका छन् । नागरिकको सहजताको लागि धौलापहिरामा अस्थायीरुपमा कज्वये निर्माण गरेको र अब सजिलै जिल्लाबाट बागलुङ पुग्न सक्ने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।

उनले भने, “योभन्दा पहिले पनि गाउँपालिकाले यस खोलामा कज्वये निर्माण गरेको थियो, तर यस वर्षको असारमा खोलाले कज्वये नै बगाएर लगेको थियो ।” वर्षात्को भेलले कज्वये बगाएर लगेसँगै सावरीसाधन खोलापारीका पारी र खोलाबारीका बारीनै रहेका थिए ।

जिल्ला सममन्वय समिति, सिस्ने र भुमे गाउँपालिका, जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व को सहकार्य तथा समन्वयमा बिहीबार साँझबाट बाटो खुलाइएको प्रजिअ अर्यालले बताए ।

सिस्ने र भुमे गाउँपालिकाको सिमानामा रहेको लुकुमगाड खोलामा पुन नबन्दा हरेक वर्षको वर्षासँगै बढेको पानीको बहावले यातायातका साधन खोला वारपार गर्न सक्दैनन् । वर्षेनी पुल नबन्दाको पीडा नागरिकले भोगिरहेका छन् । उक्त खोलामा पुल निर्माणको कार्य शुरु गरेको सात वर्ष भइसक्दा पनि पुल निर्माणको काम भने अझै सम्पन्न हुन सकेको छैन । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ००:००