५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिञ्चुमा आधुनिक बसपार्क निर्माण हुने




सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो ।

छिन्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएसँगै नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाउने भएको छ । उपप्रमुख रेणु आचार्यले रुख कटानका साथै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणको काम शुरु गर्ने जानकारी दिए ।

भेरी र कर्णाली करिडोरलाई यातायात सञ्जालसँग जोड्ने छिञ्चु सुर्खेतको दोस्रो ठूलो बजार हो । कोहलपुर, नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्ला पुग्नलाई छिञ्चुकै बाटो प्रयोग गरिन्छ । वन क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले सोही क्षेत्र बराबरको जग्गामा वृक्षरोपण गर्ने योजना बनाएको छ । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ००:००