८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान




भरतपुर । धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् ।

जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी ११ पिद्रहनीका कृष्ण लामाले बताए । उनले भने, “धेरै कु¥यौँ, तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौं ।” यसले अन्य बालीलाई समेत नोक्सान गर्ने भएकाले हरियो बोट काट्नुपरेको उनको भनाइ छ ।

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ । धानमा बाला नलागेपछि एक महीनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो । उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका छन् ।

कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताए । उनले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको जानकारी दिए । व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ००:००