९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराः जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेका घर अलपत्र




डडेल्धुरा । सम्झौता भएको आठ महीना बितिसक्दासम्म पनि डडेल्धुरामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका अधिकांश घर अलपत्र परेका छन् । घर निर्माण नहुँदा लाभग्राहीको घरमा बस्ने सपना पूरा हुन सकेको छैन ।

डडेल्धुरामा गत आर्थिक वर्षको जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका घर बनाउन रकम नआउँदा अलपत्र परेका छन् । लाभग्राहीले सम्झौताअनुसारको रकम नपाउँदा डडेल्धुरामा निर्माण भइरहेका घर अलपत्र परेका हुन् ।

सम्झौताअनुसार प्रतिघरका लागि तीन लाख ३२ हजार तीन किस्ता गरी लाभग्राहीलाई दिइनुपर्ने हो । तर डडेल्धुरामा कतिपय घरको निर्माण कार्य अन्तिम चरणमा पुग्दासम्म पनि लाभग्राहीले पहिलो किस्ताबापतको ८२ हजार मात्रै पाएका छन् ।

कतिपय लाभग्राहीले पहिलो किस्ताको रकमको भन्दाबढी रकम खर्चेर घर निर्माण गरेका छन् । घर निर्माणको अवस्था हेरेर एक वर्षसम्म पूरै रकम दिनुपर्ने भए पनि रकम नदिँदा आफूहरु मार्कामा परेको अमरगढी नगरपालिका–६ का लाभग्राही राम ताम्राकारले गुनासो गरे ।

सङ्घीय सरकारबाट प्रदेश सरकारमा बजेट आएको भए पनि प्रदेश सरकारबाट रकम निकासा नहुँदा लाभग्राहीलाई बाँकी रकम दिन नसकेको शहरी विकास तथा भवन डिभिजन फिल्ड कार्यालय डडेल्धुराका सव इञ्जिनीयर कृष्णबहादुर रोकायाले बताए ।

डडेल्धुरामा आर्थिक वर्ष २०७५÷०७६ मा १९० घर निर्माणका लागि सम्झौता भएको थियो । जसमा १०० जनाले पहिलो किस्ताबापतको रकम पाएका छन् । ३० जनाले दोस्रो किस्ताबापतको रकम पाएका छन् भने सात जनाले मात्रै पूरै रकम पाएको र बाँकी लाभग्राहीले पहिलो किस्ताबापतको रकम पनि नपाएको फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार ००:००