१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरः कार्यालय भवन बनाउँदै स्थानीय तह



हेटौँडा । मकवानपुरका स्थानीय तहले कार्यालय सञ्चालनका लागि भवन निर्माण कार्यलाई तीव्रता दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसके पनि धेरै गाउँपालिकाले भवन अभावका कारण भाडामा बसेर नै सेवा प्रवाह गरिरहेका थिए ।

जिल्लामा १० स्थानीय तहमध्ये अधिकांश स्थानीय तह भाडाका भवनमा सञ्चालन भइरहेको र आफ्नो भवन नहुँदा कार्य सञ्चालन र सेवा प्रवाहसमेतलाई समस्या परिरहेका कारण स्थानीय तहले भवन निर्माणको क्रमलाई तीव्रता दिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

जिल्लाको सबैभन्दा ठूलो हेटौँडा उपमहानगरपालिकाले आफ्नै पुरानो भवनबाट कार्य सञ्चालन गरिरहेको छ तर थाहा नगरपालिकाले भर्खरै बनेको नयाँ भवनमार्फत कार्यसञ्चालन गर्दै आएको छ । भवन अभावले गुज्रिएका जिल्लाका अन्य आठ वटा गाउँपालिकाले अहिले आफ्ना सुविधा सम्पन्न र वर्तमान संरचना अनुकूलका भवन निर्माण गरिरहेका छन् ।

चालू आवमा प्रायः सबै स्थानीय तहले कार्यालय भवन निर्माणलाई नै प्राथमिकतामा राखेका छन् । गत आवदेखि नै जिल्लाको पूर्वी वाग्मती गाउँपालिकाले कार्यालय भवन निर्माणपश्चात् सोही भवनबाट सेवा सञ्चालन गरिरहेको छ भने यसै वर्षदेखि बकैया गाउँपालिकाले पनि नवनिर्मित भवनमा कार्यालय सारिसकेको उक्त गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् ।

मनहरी गाउँपालिकाले भने अहिलेसम्म भवन निर्माण शुरु नगरेको तर चालू आर्थिक वर्षमा नै शुरु गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । चालु आवमा भवन निर्माणका लागि चार करोड बजेट विनियोजनसमेत गरिएको उनको भनाइ थियो ।

यसैगरी कैलाश गाउँपालिकाले पनि आफ्नो भवन निर्माणका लागि एक करोड ५० लाख विनियोजन गरेको छ भने मकवानपुरगढी गाउँपालिकाले पनि आफ्नै भवन बनाउने तयारीमा रहेको, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाले पनि चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको र भीमफेदी गाउँपालिकाको भवन निर्माणको काम धमाधम भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार ००:००