५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण




मुग्लिन । चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडले उक्त गाउँपालिका ४ स्थित कुरिनटारमा सो शीतभण्डार निर्माण गरेको हो ।

केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरेकामा उक्त कार्यक्रमबाट ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको उक्त लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले जानकारी दिए ।

स्थानीय किसानले उत्पादन गरेका कृषि उपज फलफूल तथा तरकारी समयमै बिक्री नहुँदा सड्ने तथा बिग्रने भएकाले किसानको मागलाई लक्ष गर्दै शीतभण्डार स्थापना गरिएको उनले बताए । पहिलो चरणमा नमूना तथा परीक्षणका लागि बनाइएको सानो क्षमताको यो शीतभण्डारमा विद्युत् जडान गर्न मात्र बाँकी रहेको र यसलाई चाँडै सञ्चालन ल्याउने तयारी भइरहेको अध्यक्ष नेपालले बताए । यहाँका किसानका लागि आवश्यकताको आधारमा शीतभण्डार निर्माण गर्दै लैजाने उनको भनाइ थियो ।

शीतभण्डार निर्माणपछि कृषक खुशी भएका भएका छन् । कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा अगुवा कृषक हरिबहादुर नेपालले शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई राहत मिल्ने बताए । चितवनको पहाडी भेगमा रहेको इच्छाकामना तरकारी उत्पादनका लागि उर्वरभूमि मानिन्छ । यहाँको तरकारी काठमाडौं, नारायणगढ तथा पोखरालगायत शहरमा पनि जाने गर्दछ ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कृषि क्षेत्रमा विशेष जोड दिइएकाले शीतभण्डार सञ्चालनका लागि आवश्यक सहयोग गर्ने र किसानलाई अनुदानका कार्यक्रम ल्याइएको जानकारी दिइन् । गाउँपालिकाको खेर गइरहेको जग्गामा व्यावसायिक कृषि गरेमा एक लाखसम्मको अनुदान दिने कार्यक्रम छ ।

गाउँपालिकाले तीन दुहुना भैँसी पालेमा एक लाख र सुन्तला, कागतीलगायत फलफूल खेती गरेमा ५०० सम्म बिरुवा अनुदान दिइनेलगायत कार्यक्रम ल्याउनाका साथै किसानलाई हातेट्र्याक्टर पनि वितरण गरिसकेको छ ।

कृषकलाई विभिन्न चरणमा तालीम प्रदान गरिएको र यहाँका तरकारी तथा फलफूलका लागि उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न विभिन्न योजना ल्याइएको अध्यक्ष गुरुङले बताइन् । रासस

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार ००:००