९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्ना बस्ती सफा–सुन्दर बनाइराख्न स्थानीय तहको आग्रह




काभ्रेपलाञ्चोक । स्थानीय तहहरूले आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा आग्रह गरेका छन् । सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो आग्रह गर्दै आएका हुन् ।

“प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न सक्छ–राख्नुपर्छ, यसमा विशेष ध्यान दियौँ भने बस्ती सफा, सुन्दर र हराभरा हुन्छ”, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने भने । उनले आफ्ना घर वरिपरिको खाली जमीन तथा खेतबारीका छेउछाउमा फलफूलका बिरुवा रोप्नसमेत नगरवासीमा अनुरोध गर्दै आएका छन् ।

आफ्ना पालिकाका बासिन्दामा स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिको एउटै प्रकृतिका सुझाव तथा छ, ‘घरका भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याएर राख्न, आफ्नो घर अगाडिको नालामा फोहर नफाल्न तथा सधैँ सफा बनाइराख्न, बाटो, नाला, चोक, गल्ली, जताततै सुन्दरता बनाइराख्न पर्छ । ’ साथै पानीको निकास तथा घुमफिर गर्ने ठाउँको समेत सरसफाइका लागि सचेत गराउन स्थानीय तहहरूले अनुरोध गर्दै आएका छन् ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा भन्छन्, “घरलगायत हरेक क्षेत्रको सरसफाइ गर्न स्थानीय सरकारसँगै नागरिकको कर्तव्य हुन्छ, यसैले हामी सभ्य भई सभ्यताको परिचय पनि दिनुपर्छ ।”

“सरल र सर्वसुलभरूपमा उपलब्ध हुने सिमेन्टका बोरामा फोहर सङ्कलन गरेर बिनालगानी सरसफाइको व्यवस्थापन गर्न सकिने उपायसमेत सिकाइएकाले अब नगरवासीले बजारबाट ल्याइने प्लाष्टिकजन्य झोला, चाउचाउको खोल तथा अन्य प्याकिङका सामग्री घरमै सङ्कलन गरी पालिकाबाट आउने फोहर सङ्कलनकर्तालाई दिने बानी बसाल्नुपर्छ”, बनेपा पाँचखाल नपाप्रमुख महेश खरेल भन्छन् । उनले सार्वजनिकस्थल, धार्मिकस्थल तथा मन्दिर, पोखरी, पर्यटकीयस्थलको सरसफाइका लागि सामूहिकरूपले हप्ताको एक दिन स्वयंसेवकको रुपमा सरसफाइमा समय दिनसमेत आग्रह गर्दै आएका छन् ।

“आ–आफना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्दा विभिन्न रोगको सङ्क्रमण न्यूनीकरण हुँदै जान्छ,” बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे भन्छन्, “फोहर पानी जमेकै कारण डेङ्गुको सङ्क्रमण बढेको हो, आफू सफा रहँदा र घर वरिपरि सफा राख्दा स्वस्थ भइन्छ ।”बस्ती सुन्दर र स्वच्छ बनाइराख्न वनजङ्गलको संरक्षण गरी खाली जमीनमा वृक्षरोपण गर्न तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ स्थानीयवासीलाई आग्रह गर्छन् । “जथाभावी रुख नकाटी, प्राकृतिक जडीबुटीको समेत संरक्षण गर्नुपर्दछ, वनलाई आफ्नो जीवनजत्तिकै माया गर्नुपर्दछ, आफू मात्र होइन, सन्ततिलाई पनि स्वच्छ वातावरणमा बाँच्ने आधार दिनसक्नुपर्दछ”, उनी भन्छन् ।

तेमाल गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर श्रेष्ठ ऐतिहासिक धरोहरका रुपमा स्थापित सार्वजनिक सम्पत्ति संरक्षण गर्न वडावासीमा अनुरोध गर्छन् । उनी भन्छन्, “सुन्दर वडा बनाउन वडावासीको साथ र सहयोग चाहिन्छ ।” आफ्नो घर, बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्दा आउँदो ‘भ्रमण वर्ष–२०२०’लाई समेत सहयोग पुग्ने स्थानीय तहका प्रमुखहरुको अपेक्षा छ । जिल्लामा छ नगरपालिका तथा सात गाउँपालिका छन् । रासस

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार ००:००