५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा न्यौपाने




वालिङ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित भएका छन् । स्याङ्जाको भिरकोट नपा २ बयरघारीमा शनिबार सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको निर्वाचनमण्डलका संयोजक भुपराज बस्यालले जानकारी दिए ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परे पनि अन्ततः यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका न्यौपानेका लागि सहमति जुटेको हो । ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १० १० का दरले प्रतिनिधि सहभागी भएका थिए ।

समाजको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, उपाध्यक्षमा हरिप्रसाद लुइँटेल, महिला उपाध्यक्षमा माया केसी र एक जना पछि थप गरिने बताइएको छ । त्यस्तै महासचिवमा हेमन्त रानाभाट, सचिवमा मोहनीलाल खनाल, प्रवक्तामा मुक्ति सुवेदी, कोषाध्यक्षमा खगेन्द्र गैरे, सहकोषाध्यक्षमा डोलराज डुम्रेसहित अन्य सदस्य रहेका छन् ।

शनिबार सम्पन्न अधिवेशनले समाजको प्रमुख संरक्षकमा राजेशदर्शन अर्याललाई चयन गरेको छ भने सल्लाहकार, क्षेत्रीय संयोजक, स्थानीय संयोजक पनि चयन गरेको निर्वाचनमण्डलका संयोजक बस्यालले बताए । समाजका नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्याङ्जा जिल्लाको बृहत्तर हितका लागि स्थानीय तहहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

समाजले विगतका दिनहरुमा जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशी भूमिमा अप्ठ्यारोमा परेका विशेषगरी स्याङ्जा जिल्लावासीलाई आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिँदै जाने अध्यक्ष न्यौपानेले उल्लेख गरे ।

“विदेशी भूमिमा रहेका स्याङ्जालीहरु तथा स्वदेशमै विभिन्न अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले समाजको स्थापना गरेका हौँ”, नवनिर्वाचित अध्यक्ष न्यौपानेले भने, “हाल यो समाज विश्वका झण्डै २० देशमा सक्रियरुपमा रहेको छ ।” रासस

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार ००:००