५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वर्षमा पनि सभागृह हस्तान्तरण भएन



सरकारी स्वामित्वमा रहेको कञ्चनपुरको भीमदत्त नगरस्थित सभागृह (सिटी हल) १० वर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।

वि.संं २०६५ मा महेन्द्रनगर नगर विकास समितिको लगानीमा निर्माण थालिएको सभागृहको काम सकिएको भए पनि हस्तान्तरण नहुँदा अलपत्र परेको छ ।

महेन्द्रनगर नगर विकास समितिको कार्यालयका सूचना अधिकृत पुष्पराज भट्टले निर्माण कम्पनीको करीब २२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले हस्तान्तरण हुन नसकेको बताए ।

साढे ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सभागृहको काम निकै ढिलो गरी सकिएको छ । “सुरूमा २वर्षभित्र निर्माण सक्ने गरी ठेकेदारसित सम्झौता भएको थियो,” भट्टले भने, “विसं २०६९ पछि ठेकेदारले पनि लापरवाही गर्दै केही समय काम छाडे ।”

निर्माणको जिम्मा पाएको श्यामसुन्दर गौरी–पार्वती जेभीले सभागहृ निर्माणका लागि ५ पटक समय माग गरेको भट्टले बताए ।

“समितिको बोर्ड बैठकले नै काम गर्ने समायावधि थप गर्दै गए,” भट्टले भने, “लामो समय समितिको किचलोले कामकाज नै ठप्प भयो ।”

६ सय ३८ बिघा जमीन रहेको महेन्द्रनगर नगर विकास समितिको २०६७ सालपछिको नेतृत्वमा आउनेहरुले जग्गा भाडाका नाममा गुरुयोजना मिचेर जग्गा वितरण गरेपछि शहरी विकास मन्त्रालयले समितिको काम झण्डै ५ वर्ष रोकेको थियो ।

भाडा प्रकरणमा अनियमितता हुनुका साथै प्रक्रिया नपु¥याएको मुद्दा अझै सर्वोच्च अदालतमा छ ।

“समितिको सम्पूर्ण कामकाज गर्ने गरी जिम्मेवारी सचिवस्तरको निर्णयले धनगढीस्थित शहरी विकास डिभिजन कार्यालयलाई दिएको छ” सूचना भट्टले भने, “अब प्रशासनिक काम सुरू भएसँगै सभागृह हस्तान्तरण हुन्छ ।”

भुक्तानी प्रक्रिया लम्बिदा सभागृह हस्तान्तरण ढिला भएको हो । ९ महीनाअघि गत पुसमा मन्त्रिपरिषद्बाट विघटन गरिएको महेन्द्रनगर नगर विकास समितिको अध्यक्षतामा स्थानीय तहका प्रमुख (भीमदत्त नगरपालिकाका प्रमुख) र सदस्य–सचिवमा कार्यकारी अधिकृत रहनुपर्ने व्यवस्था गत फागुन २९ गते राजपत्रमा प्रकाशित भएको थियो ।

नगरपालिकाले सभागृह हस्तान्तरण गर्न सङ्घीय कार्यान्वयन एकाइलाई पत्राचार गरिसकेको छ । रासस

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार ००:००