८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट भित्रिने खसीबोका घट्यो



विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिनेक्रम घटेको छ । नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो ।

पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ । तर यस वर्ष सो सङ्ख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ । यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ । जुन यो वर्षभरिको तथ्याङ्क हो ।

भारतबाट आयात हुने खसीबोकाको भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् ।

नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ । जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ ।

यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन् । सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडौं पोखरा लगायत नेपालका विभिन्न बजारमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ ।

स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ । जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजार सक्षम बन्न सक्ने ढकालले बताए ।

यस वर्ष दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ । दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको विभागले जनाएको छ । रासस

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार ००:००