६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाः १३ स्थान पर्यटकीय गन्तव्य बन्दै



कृष्ण दर्नाल

पाल्पा । पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ ।

प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ । जिल्ला वन कार्यालय पाल्पाद्वारा आव २०७६/७७ मा सञ्चालन हुने गरी १३ पर्यटकीय गन्तव्य विकासका लागि ८ करोड २५ लाख बराबरको कार्यक्रम तथा बजेटको अख्तियारी पाएको हो । केही योजना गत आवमा शुरु भई बाँकी काम सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्थापन भएको हो ।

पाल्पा पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । प्रदेश सरकारबाट पाल्पाको तानसेनस्थित श्रीनगरमा सांस्कृतिक डबली, नुवाकोटमा सांस्कृतिक डबली निर्माण हुने भएका छन् । श्रीनगर डबलीमा तीन करोडको बजेट खर्च हुनेछ । श्रीनगर डबलीको काम गत वर्षदेखि शुरु भएको हो । तिनाउ गाउँपालिकाको नुवाकोटमा एक करोड ५० लाख डबली निर्माण हुने भएको हो ।

प्रदेश सरकारको सहयोगमा तिनाउ गाउँपालिकाको दोभानमा शहीद चुनमाया उद्यान पूर्वाधार निर्माण, तानसेन श्रीनगरमा उद्यान निर्माणको काम हुनेछ । चुनुमाया उद्यानलाई १० लाख र तानसेनको श्रीनगरको उद्यानका लागि २० लाख बजेट जिल्ला वन कार्यालय खर्च गर्ने अख्तियारी पाएको हो ।

पाल्पाको पूर्वी भेगको रामपुरस्थित राम्चेमा पर्यकटीय पूर्वाधार विकास गर्न ५० लाख, रम्भा गाउँपालिकाको रिम्घा क्षेत्रमा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ५० लाख बजेट छ । यस आवमा खर्च हुने गरी माथागढी गाउँपालिका २ मा रहेको पिपलडाँडामा पर्यकटीय पूर्वधार विकास शीर्षकमा २० लाख, रिब्दीकोट गाउँपालिकास्थित भैरवस्थान पर्यटन पूर्वाधार विकासमा ३० लाख बजेट रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए ।

त्यसैगरी रम्भा गाउँपालिकाकै ऐतिहासिक रमनेश्वर पर्यटकीय गुरुयोजना निर्माण तथा सौन्दर्यीकरणका लागि ५० लाख, रिब्दीकोटको पर्यटकीयस्थलमा पूर्वाधारमा खर्च हुने गरी २५ लाख, बगनासकाली गाउँपालिका–८ स्थित महामृत्युन्जन्य शिवाशन मन्दिर निर्माणमा ३० लाख, रैनादेवी छहरा गाउँपालिका–५ स्थित तिलकस्थान उद्यान तथा टपूर्वाधार विकासमा १० लाख, बगनासकाली गाउँपालिका ९ मा देवीस्थान मन्दिर पर्यटकीय पूर्वाधार निर्माणमा १० लाख बजेट रहेको छ ।

बगनासकाली गाउँपालिकाकै वडा नं २ नौबिसेस्थित जनशिवालय मन्दिरमा धार्मिक पर्यटन प्रवर्द्धनमा १० लाख, रम्भा गाउँपालिकाकै हुँगी पर्यटकीय विकासमा १० लाख बजेट छ । रैनादेवी छहरा गाउँपालिकाको बल्डेगढीबाट नुवाकोटगढीसम्म पर्यटकीय पदमार्ग निर्माणका लागि ५० लाख बजेट यस आवमा खर्च हुनेछ ।

पाल्पा जिल्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संरक्षण, व्यवस्थापन लगायतका क्षेत्रमा खर्च हुने गरी प्रदेश सरकारबाट एक करोड ७६ लाख डिभिजन वन कार्यालयलाई अख्तियारी पठाएको हो । वन कार्यालयमा आव २०७६÷७७ मा खर्च हुने गरी राष्ट्रिय वन विकास तथा व्यवस्थापन शीर्षक कार्यक्रम तथा बजेट रहेको प्रमुख पौडेलको दाबी छ ।

पाल्पा जिल्लाको वन अतिक्रमण हटाई व्यवस्थापन, सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन, सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन, अग्नि नियन्त्रणसम्बन्धी सामग्री उपकार तथा सामान खरीद तथा वितरण, वनमा डढेलो नियन्त्रण, व्यवस्थापन योजना कार्यान्वयन, फलफूल बिरुवा उत्पादन खरीद, अन्य बिरुवा उत्पादनमा ३७ लाख सङ्घीय सरकारबाट कार्यक्रम तथा बजेटको अख्तियारी पठाएको डिभिजन वन कार्यालय पाल्पाको दाबी छ ।

सङ्घीय सरकारबाट जडीबुटी विकास कार्यक्रममा ४० लाख, वातावरण विभागतर्फ एक लाख ४० हजार बजेट पाल्पामा खर्च हुनेछ । सङ्घीय सरकारबाट यस आवमा खर्च हुने गरी वन कार्यालयमा ७६ लाखको अख्तियारी रहेको छ । सहकारीमार्फत जडीबुटी उत्पादन, खेती विस्तार, भण्डार तथा प्रशोधन गर्नेछन् । जडीबुटीको बिरुवा उत्पादन, नर्सरीसमेत मर्मत गर्ने कार्यक्रम वनमा रहेको छ । डिभिजन वन कार्यालय पाल्पाले चालू आवमा प्लास्टिक झोला विस्थापित गर्नका लागि वैकल्पिक झोला प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको प्रमुख पौडेलको भनाइ छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ००:००