१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली




नारायण न्यौपाने

काठमाडौं । दशैँको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ । खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत् विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन् ।

फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पु¥याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सिन्धुली शाखाका इञ्जिनीयर एवं सूचना अधिकृत राजु महतोले जानकारी दिए ।

दशैँको मुखमा त्यस क्षेत्रका करीब १०० घरधुरीमा अहिले बिजुली बलेको छ । थाक्लेको काखमा रहेको च्याकुटार र भालुभञ्जाङको फेदीमा रहेको दिङलादीप बस्ती अहिले बिजुली पुगेपछि रातको समयमा झिलिमिली भएको छ । कुँडुलेको सुनुवार बस्तीमा पनि बिजुलीले चमक थपेको छ । आफ्नो जीवनमा मोटर देख्न र बिजुली बाल्न पाइएला भन्ने कल्पनासमेत नगरेका स्थानीय ७० वर्षीय चतुरमान पहरी भन्छन्, “पछिल्लो समय विश्वास नै गर्न नसकिने गरी सडक, बिजुली, खानेपानीको क्षेत्रमा विकास र सुधार भएको छ, जसले हामीलाई जीवनयापन गर्न निकै सजिलो बनाएको छ ।”

विद्युत्को पहुँच विस्तारसँगै गाउँलेको मोह बिलासिताका वस्तु खरीदतर्फ आकर्षण भएको छ । विद्युत्को लाइन विस्तार हुँदा नहुँदै कति इञ्चको टेलिभिजन र कति लिटरको फ्रिज किन्ने भन्नेमा वल्लो, पल्लो र तल्लो घरमा प्रतिस्पर्धाको होडबाजीसमेत चल्न थालेको छ । सुनकोशी आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज न्यौपानेका अनुसार, केही वर्षअघिसम्म सल्लाको दियालोबाट रातको समयमा घरभन्दा गर्दै आएका गाउँले अहिले घरका बार्दली, कोठा, चोटा र मतानमा मात्र होइन, गाईगोठ र बाख्राको खोरमा समेत झिलिमिली हुने गरी बत्ती जडान गरेका छन् । बिजुली पुगेसँगै दिउँसो खेतबारीमा काम गरेर साँझ बिहान पठनपाठन गर्न चाहने शिक्षक र विद्यार्थीका लागि निकै हौसला मिलेको छ ।

दशैँको मुखमा बिजुली पुगेपछि त्यसभेगका जनताले यो दशैँलाई उज्यालो दशैँउत्सवको रुपमा मनाउने योजना बनाएका छन् । विद्युत्को मिटर जडान र वायरिङको काम सकिएसँगै कतिपयले जनतामा दशैँ र तिहारमा शहरकै झल्को दिने गरी विभिन्न रङका झिलीमिली बाल्ने सुर कसेका छन् । चाडपर्व र जात्रामा स्थानीय युवायुवतीद्वारा प्रस्तुत गरिने नाचगान हेरेर रमाउँदै आएका त्यस क्षेत्रका बासिन्दालाई विद्युत्को पहुँचले संसार बुझ्ने मौका प्रदान गरेको छ ।

प्रत्येक घरका बालबालिकाले आफ्ना अभिभावकलाई टेलिभिजन जडानका लागि आग्रह गरिरहेको छन् भने घरमुलीलाई भने बिजुलीको शुल्कले ढाड त सेक्ने होइन भन्ने चिन्ताले पिरोलेको छ । खानेपानी, सडक र उज्यालो त आयो, यसले केटाकेटीको माग र खर्च निकै बढाएछ, आम्दानीको दह्रो स्रोत छैन, घर खर्च कसरी धन्ने भन्ने चिन्ताले हामीलाई पिरोलेको छ, स्थानीय नीरबहादुर पाण्डे बताउँछन् ।

केही वर्षअघिदेखि सञ्चालनमा आएको पुष्पलाल मध्यपहाडी राजमार्गले त्यसक्षेत्रका जनताको जीवनस्तर उकास्न निकै ठूलो योगदान पु¥याएको छ भने विद्युत्को पहुँच विस्तारले उद्योग, कलकारखान र सूचना प्रविधिको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले यो चरणमा खुर्कोट–घुर्मी खण्डको कालीआँपदेखि नवलपुर हुँदै तर्किनीबेँसीसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम गत जेठबाट शुरु गरेको थियो ।

उक्त क्षेत्रमा विद्युत् विस्तारका लागि प्राधिकरणले यो वर्ष थप रु एक करोड ७० लाख बजेट विनियोजन गरेको थियो । २५ किलोमिटरको उक्त क्षेत्रमा अहिले पाँच ट्रान्सफर्मर जडान गरिसकेको भने नवलपुरसम्म विद्युत्को प्रवाह छोडिसकेको छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ००:००