२७ जेष्ठ २०८१, आइतबार | Sun Jun 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय नाकाको विकट गाउँमा उज्यालो




नरेन्द्रसिह कार्की

दार्चुला । हिमालको फेदीमा मिलेको गाउँ । चारैतिर डाँडाकाँडा र हरियाली । हिँड्ने बाटोमा सडकबत्ती, घरभित्र र बाहिर बत्ती बालिएका छन् । सुमद्री सतहबाट पाँच हजार फिट उचाइमा रहेको गाउँमा पहिलोपटक पुग्दा लाग्छ हिमालकै काखमै पुगियो ।

स्वच्छ हावा र पानी भएको ठाउँ । अग्र्यानिक आलु, फापर, कोदो, जौँ खान पाइने । चौँरीगाईको दूधबाट बनेका परिकार सजिलै खान मिल्ने । कुनै सुगम गाउँको भन्दा फरक छैन त्रिदेशीय सीमामा अवस्थित व्यासको अन्तिम गाउँ तिङ्कर । कालापानी यही क्षेत्रमा पर्छ । अहिले यो क्षेत्र भारतीय सेनाको कब्जामा छ । तिङ्करवासी यस क्षेत्रका सच्चा पहरेदार सिपाही हुन् । प्रशासनिक संयन्त्र र सुरक्षाकर्मीभन्दा पनि यहाँका स्थानीयवासीलाई यो क्षेत्र प्यारो लाग्छ । सीमामा वर्षौदेखि अटल पिलर बनेर बसेका छन् व्यासका तिङ्करीहरु ।

व्यासको वडा नं १ मा दुई मात्र गाउँ छन् । भौगोलिक रुपमा विकट बस्ती । नेपाल, भरत र चीनसँग सीमा जोडिएको क्षेत्र । यस क्षेत्रमा पुग्न नेपालतिर बाटो छैन । पञ्चायतकालसम्म नेपालतिर घोडेटोबाटो निर्माण गरिएको थियो । यही बाटो भएर चीनको स्वशासित क्षेत्र तिब्बत ताक्लाकोटबाट दार्चुलामा व्यापारीको सामान आउँथ्यो । कैलाश मानसरोवर जाने तीर्थालु यही बाटो भएर आवतजावत गर्थे । सशस्त्र द्वन्द्वकालसँगै यो बाटो अवरुद्ध भयो । व्यासको छाङ्गरु र तिङ्कर पुग्न अहिले भारतीय मार्गको प्रयोग गर्नुपर्छ । भारतीय बाटो प्रयोग गरेर भए पनि यो क्षेत्रमा विद्युतीकरण गरिएको छ ।

लघु जलविद्युत्मार्फत दुवै गाउँ उज्यालो बनेका छन् । “विसं २०६४÷६५ तिर तिङ्करमा लघुजलविद्युत् निर्माण गर्छौ भन्दा यहाँका स्थानीयवासीले पत्याएका थिएनन्, हिँड्न बाटो छैन, उता भारत सरकारले आफ्नो यति धेरै बस्ती राखेको ठाउँमा बिजुली नपु¥याएको बेला हाम्रो दार्चुलाको अन्तिम गाउँमा बिजुली पु¥याउने कुरा सपनाजस्तै लागेको थियो”, स्थानीयवासी कृष्ण तिङ्करीले भने, “गाउँ नजिकै खोला भए पनि बिजुली बाल्ने कुरा सपनाजस्तै थियो ।”

जिल्लाका अन्य साविकका गाविसमा गरिबी निवारण कोषले लघुजलविद्युत् निर्माण गरिरहेको थियो । त्यो बेला साविकको व्यास गाविस हेर्ने जिम्मेवारी व्यासी सौका समाज नामक गैरसरकारी संस्थाको थियो । उनले भने, “हामीले विद्युत् चाहियो भन्दै प्रस्ताव हाल्यौँ, प्रस्ताव स्वीकृत भयो, उति बेला गरिबी निवारण कोषले १४ लाख तथा विभिन्न कार्यालय साविकको गाविसलगायत स्थानीयवासीको कोषबाट गरी ३२ लाख बढी लागतमा विद्युत् निर्माण भयो ।”

गाउँकै घट्टेखोलबाट १२ किलोवाट विद्युत् निकालिएको छ । त्यो बेला विद्युत्का लागि चाहिने सामान भारतबाट ढुवानी गरिएको निर्माण उपभोक्ता समितिका सचिवसमेत रहेका तिङ्करी बताए । यहाँका बासिन्दाको छ महीना सदरमुकाम खलङ्गा र छ महीना तिङ्कर बसाइँसराइ हुन्छ । तिङ्करमा ६५ बढी परिवारको बसोबास छ । अहिले गाउँमा आउँदा अरु सुविधा नभए पनि बिजुली पाइएको छ । विद्युत् बनाएदेखि हालसम्म बिग्रिएको छैन । यही कात्तिक अन्तिम सातादेखि बसाइँसराइ शुरु हुन्छ । गाउँमा जाँदा विद्युत् सञ्चालन गर्ने र बसाइँ सरेसँगै बन्द गरेर आउने गरेको स्थानीयवासी बताउँछन् । त्रिदेशीय गाउँमा विद्युत् बलेको एक दशक भएको छ ।

छाङ्गरु गाउँमा १७ किलोवाट क्षमताको लघुजलविद्युत् निकालिएको छ । छाङ्गरुमा झण्डै ९० बढी परिवारको बसोबास छ । सरकारले दिएको सेवा भनेकै विद्युत् हो स्थानीय वीरेन्द्र तिङ्करीले बताए । उनले भने, “सडक सुविधा छैन, हिँड्नलाई बाटो छैन, तर हामीले विद्युत् भने उत्पादन गरेका छौँ ।” सदरमुकाम खलङ्गाबाट तीनदेखि चार दिन लगाएर पुगिने व्यासको छाङ्गरु र तिङ्करमा हेलिकोप्टरमार्फत सामान ढुवानी गरेर स्थानीयवासीले विद्युत् निकालेका हुन् ।

ढुवानी महङ्गो भए पनि नागरिकले सेवा पाएका छन् । उता भारतीय गाउँ बुदि, गव्र्याङ, गुञ्जी लगायतका गाउँमा अहिले पनि सोलार छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न ११ किलोमिटरको दूरी छ भने तिङ्करदेखि पिल्लरसम्म पुग्न नौ किलोमिटरको दूरी छ । गरिबी निवारण कोष, साविकको गाउँ विकास समिति, जिल्ला विकास समिति, समुदायको लगानी र अन्य क्षेत्रको सहयोगमा उत्तरी क्षेत्रमा विद्युत् उत्पादन गरिएको हो । जिल्लाको सबैभन्दा विकट क्षेत्रमा पुगेर गरिबी निवारण कोषले विद्युत् उत्पादन गरेको व्यासी सौका समाजका कार्यक्रम संयोजक सुक्लावती बुढाथोकीले बताइन् ।

“अरु सङ्घसंस्था गएर यो क्षेत्रमा विद्युत् उत्पादन गरेर उज्याले बनाउन सक्ने अवस्था थिएन, हामी यही क्षेत्रका भएर सहज भयो, निर्माण भएको १० वर्षसम्म पनि गाउँमा बिजुली बलेकै खबरले हर्ष बढाउँछ”, उनले भनिन् । विसं २०६१ देखि जिल्लामा गरिबी निवारण कोषले लगानी शुरु गरेको हो । विद्युत्मा मात्र गरिबी निवारण कोषले जिल्लामा १४ करोड बढी खर्च गरेको छ । यहाँ गरिबी निवारण कोषमार्फत ४३८ दशमलव ७८ किलोवाट विद्युत् उत्पादन गरिएको छ । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००