८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीः पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा पाँच करोड विनियोजन



म्याग्दी । म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्ग लगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिए । घोडेपानी–मोहरेडाँडा पदमार्ग, पुनहिल पूर्वाधार, रुइसे धवलागिरि आइसफल पदमार्ग, धवलागिरि चक्रिय पदमार्ग, गुर्जा हिमाल पदमार्ग, तातोपानी कुण्ड, ताकमकोत पुनःनिर्माण र गलेश्वरलाई ५० लाख विनियोजन भएको छ ।

बेनी–टोड्के–मालिका पदमार्गलाई ५० लाख, अन्नपूर्ण पदमार्गलाई ४० लाख, भकिम्ली बेलढुङ्गा पदमार्गलाई १० लाख विनियोजन भएको छ । यसैगरी गण्डकी प्रदेशका सांसद विनोद केसीले गत वर्ष शुरु भएका र विगतमा ठेक्का लागेका खानेपानी, सडक आयोजनालाई पूर्णता दिन यसपालि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताए ।

सङ्घीय सांसद थापाले योजना तथा कार्यक्रम छनोटमा भौगोलिक सन्तुलन मिलाएको बताए भने प्रदेश सांसद केसीले प्रदेश र सङ्घका योजना कार्यान्वयनमा स्थानीय तहले बेवास्ता गरेको गुनासो गरे । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहका योजना अनुगमनका लागि विवरण मागे पनि उपलब्ध नगराएको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना छनोटदेखि कार्यान्वयनमा समन्वय हुनुपर्ने विचार राखे ।

बसपार्कमा यात्रु सहायताकक्ष स्थापना

म्याग्दीको बेनी नगरपालिका ८ कालीपुल बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायताकक्ष स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायताकक्ष स्थापना गरेको हो ।

दशैं, दिपावली तथा छठ पर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले उनीहरूलाई पर्ने समस्या समाधान तथा गुनासो सुनुवाइ गर्न सहायताकक्ष स्थापना गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । सहायताकक्षमा चौबिसै घण्टा सुरक्षाकर्मी खटिनेछन् । कालीपुल बसपार्कबाट म्याग्दीबाट लामो तथा छोटो दूरीका सवारी साधन छुट्ने गर्छ । तोकिएभन्दा बढी भाडा लिने, यात्रुलाई अलपत्र पार्ने, गाडी नपाउनेजस्ता समस्यामा परेका यात्रुले सहायताकक्षमा गुनासो गर्ने व्यवस्था मिलाइएको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार ००:००